

सुनसरी । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको छ । प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले सुनसरीको इनरुवाबाट भारतीय गाडीमा नक्कली नोट बरामद गरेको पुष्टि गर्नुभयो । इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।