कास्की: गण्डकी खेलकुद पदक वितरणमा अनियमितता भएको पाइएपछि छानबिन समिति गठन गरिएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा शेषनारायण पौडेलको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेल र मन्त्रालयका युवा महाशाखा प्रमुख नारायणप्रसाद बास्तोला सदस्य रहनुभएको छ ।गण्डकी प्रदेश खेलकुद परिषद्ले गत असार ३० गते प्रदान गरेको ‘प्रदेश खेलकुद पदक’ विवादित बनेपछि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले पदक छनोट प्रक्रियाबारे छानबिन गर्न समिति गठन गरेको हो ।परिषद्ले पहिलोपटक वितरण गरेको उक्त पदकको छनोट तथा सिफारिस प्रक्रिया, कार्यविधिको कार्यान्वयन र सिफारिस समितिमा रहेका व्यक्तिले पदक प्राप्त गरेको विषय सार्वजनिक भएपछि खेलाडी, खेलकर्मी तथा सञ्चारकर्मीले प्रश्न उठाएका थिए ।सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले छानबिन समितिलाई पाँच दिनको समय दिइएको र प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्णय गरिने बताउनुभयो ।“पदक वितरणमा भएका अमर्यादित कार्यलगायत सार्वजनिक रूपमा उठेका सबै विषयमा छानबिन हुनेछ । मन्त्रालय यस विषयमा प्रतिबद्ध छ ।
समितिलाई छिटोभन्दा छिटो निष्पक्ष छानबिन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ”, मन्त्री गुरुङले भन्नुभयो ।छानबिन समितिका संयोजक पौडेलले पदक सिफारिस गर्दा कार्यविधि पालना भए–नभएको, पारदर्शिता कायम भए–नभएकोलगायत सबै विषयमा अध्ययन गरी तोकिएको समयभित्र प्रतिवेदन पेस गरिने बताउनुभयो । परिषद्ले खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर, अन्तरराष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचन र असिम शेरचन तथा क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजुलाई २०८१/८२ को खेलकुद पदक प्रदान गरेको थियो । त्यसैगरी, सङ्घसंस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई पदक प्रदान गरिएको थियो । उत्कृष्ट प्रदेश खेलकुदतर्फ गण्डकी प्रदेश टेनिस सङ्घलाई नगद रु एक लाख २० हजारसहित सम्मान गरिएको थियो । गण्डकी प्रदेश ह्यान्डबल सङ्घ र गण्डकी प्रदेश फेन्सिङ सङ्घलाई उत्कृष्ट खेल सङ्घ घोषणा गर्दै नगद रु ९०(नब्बे)/९०(नब्बे) हजारसहित सम्मान गरिएको थियो ।
