जनकपुरधाम: मधेस प्रदेशका सभामुख रामआशिष यादवले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि राज्य, नागरिक समाज र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषद्वारा आयोजित ३४ औँ प्रकाश स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा सभामुख यादवले मानव अधिकारको रक्षाका लागि समाजका सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो ।संस्थागत प्रयासले मानव अधिकारकर्मीलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले यसले मानव अधिकार उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न प्रेरणा मिल्ने बताउनुभयो ।कार्यक्रममा सभामुख यादवले यस वर्षको वैद्य–प्रकाश मानवअधिकार पुरस्कार–२०८३ मानवअधिकारकर्मी राजु पासवानलाई प्रदान गर्नुभयो । पासवानलाई रु ११ हजार ५०० नगद, सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभयो ।सप्तरीको शम्भुनाथ नगरपालिका–१ क्चनदाहा निवासी ४८ वर्षीय पासवान अनौपचारिक सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक हुनुहुन्छ ।
वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषका संस्थापक एवं अध्यक्ष वैद्यनाथ झाले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट प्राप्त रु ५० हजारको प्रकाश मानव अधिकार पुरस्कारबाट वैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोष स्थापना गरिएको हो । सो पुरस्कार २०६७ सालदेखि प्रत्येक वर्ष मानव अधिकार, नागरिक आन्दोलन र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्दै आएको छ ।सो अवसरमा सातौँ उर्मिला देवी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार–२०८३ बाट शीमला देवी झा सम्मानित हुनुभयो । झालाई नगद रु दुई हजार ५००, प्रमाणपत्र र दोसल्ला प्रदानसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
