चितवन: चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निःशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सङ्कलन गर्दै आएको शुल्क साउन ४ गतेदेखि लागू हुनेगरी हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो । यहाँ अवलोकनमा आउने विदेशीलाई रु १००, स्वदेशी पर्यटकलाई रु ५० र विद्यार्थीका लागि रु ३० प्रवेश शुल्क तोकिएको थियो । सौराहा आउने पर्यटक प्रजनन केन्द्र अवलोकन गर्न रुचाउने गर्दछन् । सौराहाको हात्ती प्रजनन केन्द्रबाट रु करिब रु ७० लाख र गोही प्रजनन केन्द्रबाट करिव रु ४० लाख प्रवेश शुल्क असुली हुने गरेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जले शुल्क लिन नियमावलीले नदिएको र ट्रष्टमार्फत शुल्क असुल गर्दा अफ्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क हटाइएको जानकारी दिनुभयो । हात्ती प्रजनन केन्द्रमा पर्यटकले हात्तीको रहनसहन, स्याहारसुसारका बारेमा ज्ञान लिनाका साथै माउ र बच्चा खेलेको दृश्यमा रमाउने गर्छन् ।
प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले यहाँ दैनिक झन्डै ४०० पर्यटक अवलोकनका लागि आउने गरेको बताउनुहुन्छ । विसं २०४४ मा स्थापना भएको उक्त केन्द्रमा अहिलेसम्म ६९ वटा छावा जन्मिएका छन् । भारतबाट चारवटा र थाइल्यान्डबाट एउटा गरी पाँचवटा हात्तीबाट हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो ।प्रजनन केन्द्रमा नौ वटा माउ र सात वटा छावा छन् । गोही प्रजनन केन्द्रमा करिब ५०० गोही रहेका छन् । नदीबाट अण्डा जम्मा गरेर बच्चा हुर्काउने गरिन्छ । यहाँ हुर्किएका गोहीका बच्चा नदीमा छोड्ने गरिएको छ । माउसँग खेल्दै गरेका हात्तीका छावा र पानीमा तैरिरहेका गोही हेर्न पर्यटक रुचाउने गर्छन् ।
