१९ साउन २०८३, मंगलबार

शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र बन्दै

Logo
Pulse Khabar मंगलबार, साउन १९, २०८३

भद्रपुर (झापा):  अर्जुनधारा–९(नौ) स्थित शनिश्चरे नगर अस्पतालस्थित निःशुल्क आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम प्रभावकारी बनिरहेको पाइएको छ ।

गुणस्तरीय सेवा, दक्ष चिकित्सक, निःशुल्क शल्यक्रिया तथा एम्बुलेन्स सुविधाका कारण अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ ।
विसं २०७७ देखि नगर अस्पतालका रूपमा सेवा सुरु गरेको उक्त अस्पतालले विसं २०८१ असार २० गतेदेखि नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । अस्पताल प्रशासन शाखा प्रमुख राजविक्रम खड्काका अनुसार, कार्यक्रम सुरु भएयता हालसम्म ५५५ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । तीमध्ये २२४ जनाको शल्यक्रियामार्फत र बाँकीको सामान्य प्रसूति भएको अस्पतालको तथ्याङ्क छ ।गत आर्थिक वर्ष २०८२÷८३ मा मात्रै २६० जना गर्भवतीले सेवा लिएका छन् । तीमध्ये यस जनाको शल्यक्रियामार्फत तथा १६० जनाको सामान्य प्रसूति भएको शाखा प्रमुख खड्काले जानकारी दिनुभयो । “गर्भवतीलाई नियमित गर्भ जाँचदेखि निःशुल्क प्रसूति, आवश्यक परे शल्यक्रिया, औषधि, परामर्श र एम्बुलेन्ससम्मको सुविधा उपलब्ध गराउँदै आएका छौँ ।

गुणस्तरीय सेवा पाएपछि सेवाग्राहीको विश्वास बढ्दै गएको छ”, खड्काले भन्नुभयो । अस्पतालमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा दिप्ती कुँवरको नेतृत्वमा प्रसूति सेवा सञ्चालन भइरहेको छ । अस्पतालले सुत्केरी हुन आउनेका लागि आउँदा वा फर्कदा एकपटक निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।अर्जुनधारा नगरपालिकासँगै मेचीनगर, बिर्तामोड, कन्काई नगरपालिका, बुद्धशान्ति गाउँपालिका तथा इलामका सूर्योदय, माई नगरपालिका र रोङ गाउँपालिकाबाट गर्भवती सेवा लिन आउने गरेका अस्पतालले जनाएको छ । उक्त नगर अस्पतालको सेवा क्षेत्र विस्तार हुँदै गएको देखिएको छ ।अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगरस्तरबाट निःशुल्क सुत्केरी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने अभियान देशमै नमूना बनेको दाबी गर्नुभयो ।उहाँले भन्नुभयो, “नगरपालिकाको अस्पतालबाट विशेषज्ञसहित गुणस्तरीय र निःशुल्क सुत्केरी सेवा दिन सकिन्छ भन्ने उदाहरण हामीले प्रस्तुत गरेका छौँ ।

दक्ष जनशक्ति, पर्याप्त पूर्वाधार र निःशुल्क सेवाका कारण सेवाग्राहीको विश्वास बढ्दै गएको छ ।”१५ शय्याको स्वीकृति प्राप्त शनिश्चरे नगर अस्पतालले हाल ६० शय्यासम्म सेवा विस्तार गर्दै आएको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.योगेश चेम्जोङका अनुसार हाल अस्पतालबाट दैनिक ५०० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिने गरेका छन् । अस्पतालले स्थानीय नागरिकको मागलाई मध्यनजर गर्दै आगामी दिनमा दन्त सेवा, फिजियोथेरापी सेवा तथा ल्याप्रोस्कोपिक शल्यक्रिया सेवासमेत सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले गुणस्तर सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा ८१ अङ्कसहित जिल्लामा सर्वोत्कृष्ट बन्न सफल भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206