काठमाडौं:नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि बेपत्ता भएका छन् ।
पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर गएको हिमपहिरोले विपत्ति निम्त्याएको हो । त्यसयता टोलीका सदस्यहरूसँग कुनै सम्पर्क हुन नसकेको जनाइएको छ ।बेपत्ता टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी नागरिक तथा पाँच नेपाली आरोहीसहित विभिन्न देशका सदस्य रहेका छन् । हिमपहिरोपछि उनीहरूको अवस्थाका बारेमा आधिकारिक रूपमा कुनै पुष्टि हुन सकेको छैन ।मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको पाकिस्तानका अधिकारीहरूले बताएका छन् । पाकिस्तान अल्पाइन क्लबले सरकारी निकायसँग निरन्तर समन्वय भइरहेको र उद्धार अभियान तत्काल सञ्चालन गर्न आवश्यक सबै पहल भइरहेको जनाएको छ ।
क्लबका अनुसार हेलिकोप्टर सहयोग सुनिश्चित गर्न र उपलब्ध सबै स्रोतसाधन शीघ्र परिचालन गर्न प्रयास जारी छ । साथै, बेपत्ता आरोहीहरूको सुरक्षित उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ ।विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक पर्वतारोहणका दृष्टिले अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । निर्मल पुर्जा सन् २०१९(दुई हजार उन्नाइस) मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।उनी सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए भने सन् २००९(दुई हजार नौ) मा रोयल मरीन बनेका थिए । सन् २०१२ देखि पर्वतारोहण यात्रा सुरु गरेका पुर्जा आज विश्वकै चर्चित पर्वतारोहीमध्ये एकका रूपमा परिचित छन् ।हालसम्म बेपत्ता आरोहीहरूको अवस्थाका बारेमा कुनै आधिकारिक विवरण प्राप्त हुन सकेको छैन । मौसममा सुधार आएलगत्तै खोज तथा उद्धार अभियान तीव्र बनाइने भएको छ ।
