१३ साउन २०८३, बुधबार

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप: शय्या र जनशक्ति अभावले पालो पाउनै सास्ती

Logo
Pulse Khabar बुधबार, साउन १३, २०८३

चितवन: बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्त्वपूर्ण औषधि किमो लगाउन बिरामीलाई पाँचदिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ ।

अस्पतालमा दैनिक करिव ३०० बिरामी किमोका लागि सेवा लिन आउने भए पनि करिव २०० लाई मात्र केमो दिन सकिएको छ । एक सय ५० शय्या किमोका लागि छुट्याइएको छ । केही बिरामीलाई किमो दिएपछि छोटो समयमा घर पठाउन सकिने भएकाले त्यही शय्यामा अर्काे बिरामीलाई किमोदिने गरिएको छ ।अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार तोकिएका समयमा नै किमो दिँदा प्रभावकारी हुन्छ । उहाँले भन्नुभयो, “बिरामीको उच्च चापका कारण समयमा किमो दिन सकिएको छैन, यसले उपचारमा प्रभावकारिता घट्छ ।”बिरामीले पाँच दिनसम्म पालो कुर्नुपरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रादेशिक अस्पतालहरूमा किमो दिने व्यवस्था गर्नुपर्छ, नभए यहाँको अस्पतालमा शय्या र जनशक्ति थप्नुपर्छ ।” बिरामीको चाप बढ्दै जाने र अस्पतालले शय्या र जनशक्ति नथप्दा चाहेर पनि आएका सबै बिरामीलाई किमो दिन नसकिएको उहाँ बताउनुहुन्छ । अस्पतालले केमो चढाएको एक पटकको रु ५०० शुल्क लिने गरेको छ । केमो खरिद अस्पतालको फार्मेसीमा छुट्टै गर्नुपर्छ । बिरामीको रोगको प्रकृति र औषधि उत्पादक कम्पनीअनुसार केमोको मूल्य रु १०० देखि लाखौँसम्म पर्ने उहाँको भनाइ छ ।

अस्पतालमा बिरामीलाई सामान्यतया दुई हप्ताको फरकमा १२ पटक र तीन हप्ताको फरकमा छपटकसम्म किमो दिने गरिन्छ । कतिपय बिरामीको तीन वर्षसम्म पनि किमो लगाउनुपर्ने हुन्छ । केमो लगाउनका लागि नेपालभर र भारतीय सीमा क्षेत्रबाट पनि यहाँ बिरामी आउने गर्दछन् । लामो समय पालो कुर्नु परेपछि यहाँ आएका बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेका छन् ।चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी क्यान्सर अस्पतालकै शुल्कमा किमोलगायतका क्यान्सर उपचार सेवा दिने गरेको छ । बाहिरी जिल्ला जानुभन्दा भरतपुर आएका बिरामी यस इन्स्टिच्युटमा जाने गरेका छन् । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अन्य अस्पतालमा लामो पालो कुर्नुपरेका बिरामीसमेत यस इन्स्टिच्युटमा आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सरकारी अस्पतालको शुल्कमा सेवा प्रवाह गर्ने कुरा धेरैलाई थाहा नभएकाले थाहा पाउनेहरू आउनुभएको छ ।”इन्स्टिच्युटले पछिल्लो समय बिरामीको सङ्ख्या बढ्दै गएको जनाएको छ । जिल्लाका केही निजी अस्पतालहरूले मापदण्ड पूरा नगरी किमो दिने गरेको गुनासो छ । केही बिरामी यहाँ सरकारीमा पालो नपाएपछि भारत, काठमाडौँलगायतका ठाउँमा समेत जाने गरेका बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206