विराटनगर: सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ ।
प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो । डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन । अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ ।दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियारसहित आक्रमण र प्रत्याक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले दुई समुदायबीच अनियन्त्रित झडप भइरहेको जानकारी दिए ।‘अहिले साँझबाट ठूलो संख्यामा भेला भएका दुई पक्षबीच घरेलु हतियारसहित दोहोरो झडप भइरहेको जानकारी आएको छ । झडप र हुलदंगाले अवस्था पूर्णरूपमा तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने । साँझको समय भएकाले अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई समस्या परिरहेको जानकारी खड्काले दिए ।‘साँझको समय भएकाले सुरक्षाकर्मीलाई प्रभावकारी रुपमा खटाउन सकिएको छैन । सुरक्षाकर्मीलाई निक्कै गाह्रो भइरहेको छ । जथाभावी आक्रमण र प्रत्याक्रमण भइरहेको जानकारी आएको छ,’ उनी भन्छन्, ‘देवानगन्ज बजारको अवस्था सुरक्षा नियन्त्रणभन्दा बाहिर छ । त्यही पनि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म सम्भव भइरहेको छैन ।’ मंगलबार दिउँसो देवानगन्ज–३ कप्तानगन्जका केही घरमा आगजनीसमेत भएको थियो ।
आगजनी र नियन्त्रणबाहिरको झडपका कारण स्थानीय सर्वसाधारणबीच भागदौड मच्चिएको छ । कतिपय वृद्धवृद्धा र बालबालिका हुलदंगमा परेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनामा ठूलो हताहती भएको हुनसक्ने र अझै नियन्त्रणमा आउन नसके अवस्था निक्कै जटिल एवं असहज बनेर जाने सुरक्षा विश्लेषण छ । लामो समयदेखिको मारपिट, हुलदंगा र झडपका कारण ठूलो हताहती भएको हुनसक्ने सुरक्षा अधिकारीहरुको आशंका छ ।स्थिति नियन्त्रणमा लिनका लागि पुगेका सुरक्षाकर्मीहरु नसकेपछि फिर्ता भएका छन् । सुरक्षाकर्मी घटनास्थलमा जान नसक्दा के कति क्षति भयो भन्ने यकिन छैन । ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी खटिएको भए पनि अनियन्त्रित भिडले लगातार आक्रमण गर्न थालेपछि ज्यान जोगाउनलाई सुरक्षाकर्मी नै भाग्नुपर्ने अवस्था आएको छ ।‘झडप सुरु भएको जानकारी पाउनसाथ हामी घटनास्थलतर्फ जाँदै थियौं । तर, त्यहाँ पुग्न नपाउँदै सुरक्षाकर्मीलाई समेत लक्षित गरेर आक्रमण र ढुंगामुढा हुन थाल्यो । अवस्था सुरक्षा नियन्त्रणबाहिर रहेको पाइयो । हामीले भागेर ज्यान जोगाएका छौं,’ घटनास्थलनजिक रहेका एक सुरक्षाकर्मीले भने । उनका अनुसार दुई पक्षबाटै ठूलो भिड भेला भएर एकअर्कालाई आक्रमण गर्ने काम गरिरहेका छन् ।आक्रमण र प्रत्याक्रमणसँगै देवानगन्ज बजारमा आगजनी र तोडफोडसमेत भइरहेको छ । त्यस्तै, घुस्कीमा दनदनी आगो बलिरहेको परैबाट देख्न सकिन्छ । घुस्की लगायतको स्थानमा भीषण आगजनी र आक्रमण भइरहेको हो ।
दिउँसो पनि घुस्कीमा सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो । सुनसरीमा मंगलबार बिहानैदेखि ठाउँठाउँमा दुई समूहबीच लगातार भिडन्त र झडप भइरहेको छ ।सुनसरीका सुरक्षा अधिकारीहरुले दिउँसो देवानगन्ज र कप्तानगन्जको स्थलगत निरीक्षण गरेका थिए । स्थलगत निरीक्षणका क्रममा स्थानीय अगुवाहरुसँग भेटघाट र छलफल गर्दै अवस्थालाई सामान्य बनाउन सुरक्षा अधिकारीले आग्रह गरे । अनुगमन र निरीक्षण सकेर सुरक्षा अधिकारी फर्किएको केही समयमै देवानगन्ज बजार पूर्णरूपमा रणमैदानमा परिणत भएको हो ।देवानगन्ज र हरिनगरामा मंगलबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरले हवाई गस्तीसमेत गरेको थियो । फिल्डमा समेत सेना परिचालन गरिएको छ । तर, अवस्था झन् तनावग्रस्त बनेर गएको छ । माहोल बिग्रिदै जाँदा दुई पक्षबीच लगातार झडप भइरहेको हो ।दुई समुदायबीच मारमार चलिरहँदा सुरक्षा अधिकारीले भने सुरक्षाकर्मीलाई धेरै बल प्रयोग नगर्न निर्देशन दिएका छन् । आवश्यक बल प्रयोग गर्न नपाएपछि सुरक्षाकर्मी नै निरीह बनेका छन् । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले सिलसिलेवार रूपमा बल प्रयोग गर्न र भिड नियन्त्रणका क्रममा हतियारको प्रयोग नगर्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि आक्रमण, आगजनी र तोडफोड एवं आक्रमण र प्रत्याक्रमणमा उत्रिएकाहरुको मनोबल झन् बढेको बताइन्छ ।
