विराटनगर: सुनसरीको देवानगन्ज, कप्तानगन्ज क्षेत्रको स्थिति बिस्तारै सामान्य बन्दै गए पनि पूर्वपश्चिम राजमार्गअन्तर्गत पकलीदेखि कोशी ब्यारेजसम्मको खण्डमा प्रदर्शन उग्र बनेको छ ।
प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा टायर बालेर सडक अवरोध गरेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगन्ज, कप्तानगन्ज क्षेत्र साम्य हुँदै गए पनि राजमार्गमा प्रदर्शन चर्किएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इटहरीबाट पश्चिम जाने सवारी साधनहरूलाई रोकिएको छ ।प्रदर्शनकारीहरूले राजमार्गका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेकाले थप दुर्घटना हुनसक्ने भएकोले यातायात सेवा पूर्ण रूपमा ठप्प पारेको प्रहरीले जनाएको छ ।
अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि सडक अवरोधका कारण सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र स्थिति सामान्य नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ ।
