विराटनगर: सुनसरीको देवानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिँदै पूर्व–पश्चिम राजमार्गसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा सोमबार साँझ जारी गरिएको सूचना अनुसार आज राति ९(नौ) बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको हो ।प्रशासनले राजमार्गको सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षाका लागि भन्दै इनरुवा नगरपालिका वडा नं. ३ र ६ को सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपली टोल),पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि ५०० मिटर क्षेत्रसम्म कफ्यु आदेश जारी गरेको हो ।आदेशमा तोकिएको सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी पूर्ण रोक लगाइएको छ ।प्रशासनले कर्फ्यू आदेशको उल्लंघन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी समेत दिएको छ ।
आइतबार राति कप्तानगन्जमा भएको झडप र प्रहरीको गोलीबाट ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले सोमबार दिनभर सुनसरीका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लौकी, भोक्राहा र इनरुवा खण्डमा राजमार्ग अवरुद्ध गरी टायर बालेर प्रदर्शन गरेपछि र सवारी साधनमा तोडफोडको स्थिति सिर्जना भएपछि प्रशासनले यो कदम चालेको हो ।यसअघि नै देवानगन्ज र हरिनगराका ५ वटा मुख्य बजार क्षेत्रमा कर्फ्यू जारी भइसकेको थियो । राजमार्ग क्षेत्रमा समेत कर्फ्यू लागेपछि अब सुनसरीको मुख्य यातायात र बजार क्षेत्र ठप्प हुने देखिएको छ । प्रशासनले भने राजमार्गमा रोकिएका सवारी साधनलाई सुरक्षा घेराभित्र राखेर गन्तव्यतर्फ पठाउने तयारी गरिरहेको जनाएको छ ।
