एजेन्सी:प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीले भयावह रूप लिएको छ ।
१० हप्ताभन्दा कम अवधिमा १ हजार ३ सय जनाभन्दा बढीको मृत्यु भएपछि जनस्वास्थ्य विज्ञहरूले अवस्थालाई अत्यन्त चिन्ताजनक भन्दै तत्काल विश्वव्यापी सहयोगको आवश्यकता औँल्याएका छन् ।सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार इबोलाबाट संक्रमित हुनेको कुल संख्या २ हजार ९ सय ७३ पुगेको छ । यसमध्ये १ हजार ३ सय ९ जनाको मृत्यु भइसकेको हो । अघिल्लो साताको तुलनामा संक्रमितको संख्या २७ प्रतिशतले बढेको थियो ।यसपटक फैलिएको भाइरस ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भएकाले चुनौती अझ गम्भीर बनेको विज्ञहरूको भनाइ छ । मानिसमा असर गर्ने इबोलाका चार प्रकारमध्ये यो सबैभन्दा दुर्लभ मानिन्छ । हालसम्म यसका लागि प्रभावकारी खोप वा स्वीकृत उपचार उपलब्ध छैन ।अफ्रिकी युनियनअन्तर्गतको अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी)का जनस्वास्थ्य परामर्शदाता अब्दुलसलामी नासिदीले प्रमाणित खोपको अभावका कारण भाइरस डढेलोझैँ फैलिरहेको बताएका छन् । उनका अनुसार महामारी सक्रिय द्वन्द्वग्रस्त क्षेत्रमा फैलिएकाले स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न झन् कठिन भएको छ ।
यता वैज्ञानिकहरू भने सम्भावित खोप विकासमा जुटिरहेका छन् । अक्सफोर्ड विश्वविद्यालयको ‘अक्सफोर्ड भ्याक्सिन ग्रुप’ले विकास गरिरहेको प्रयोगात्मक खोपको पहिलो मात्रा शुक्रबार एक स्वयंसेवकलाई दिइएको छ । टोलीकी प्रमुख अनुसन्धानकर्ता क्याट्रिना पोलकले यसलाई ‘बुन्डिबुग्यो’ इबोलाविरुद्धको खोप विकासतर्फको महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन् ।इबोलाको इतिहासमा सबैभन्दा घातक महामारी सन् २०१३ देखि २०१६ सम्म पश्चिम अफ्रिकाका गिनी, लाइबेरिया र सियरा लियोनमा फैलिएको थियो । उक्त महामारीमा २८ हजारभन्दा बढी संक्रमितमध्ये ११ हजारभन्दा बढीको मृत्यु भएको थियो । त्यसबेला पहिलो १ हजार जनाको मृत्यु हुन करिब आठ महिना लागेको थियो ।तर, कंगोमा अहिले फैलिएको महामारीले १० हप्ताभन्दा कम समयमै १ हजार ३ सयभन्दा बढीको ज्यान लिइसकेको छ । यही कारण स्वास्थ्य विज्ञहरूले यसलाई इबोलाको इतिहासकै सबैभन्दा तीव्र गतिमा फैलिएको प्रकोपका रूपमा लिन थालेका छन् ।अफ्रिका सीडीसीका महानिर्देशक जीन कासेयाले पनि महामारी नियन्त्रणका लागि तत्काल अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताएका छन् । उनका अनुसार अहिले नै प्रभावकारी कदम चाल्न नसके विश्वले अहिलेसम्मकै सबैभन्दा गम्भीर इबोला महामारीको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।
