काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बेटिङ (सट्टेबाजी) र अवैध वित्तीय कारोबारमा प्रयोग भइरहेका दुई लाखभन्दा बढी वेबसाइट तथा मोबाइल एप बन्द गरिएको जनाएको छ ।
सरकारले अवैधानिक डिजिटल कारोबार नियन्त्रणलाई तीव्र बनाउँदै पछिल्लो समय निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाएको हो । गत चैत १३ गते सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणलाई प्राथमिकतामा राखिएको थियो । कार्यसूचीको ४२औँ बुँदाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई यस्ता एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको हो।सोही निर्णयअनुसार नेपालमा सञ्चालनमा रहेका बेटिङ वेबसाइटहरू बन्द गरिए पनि नयाँ नाम र नयाँ वेब ठेगानाबाट पुनः सञ्चालनमा आउने क्रम भने रोकिएको छैन । यही चुनौतीलाई ध्यानमा राख्दै प्राधिकरणले निगरानीलाई निरन्तरता दिएको जनाएको छ ।प्राधिकरणका अनुसार यस वर्षको फिफा विश्वकप सुरु भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा बेटिङ तथा अवैध वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट र एप अवरुद्ध गरिएका छन् । विश्वकपका क्रममा अनलाइन बेटिङको प्रयोग उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यस विषयलाई विशेष प्राथमिकतामा राखेको थियो । त्यसपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी)सँगको समन्वयमा कारबाहीलाई तीव्र बनाएको हो ।
यसका लागि गठन गरिएको कार्यदलमा रहेका नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि आईएसपीका प्रतिनिधिलाई प्राधिकरणमै राखेर शंकास्पद वेबसाइट तत्काल पहिचान गरी अवरुद्ध गर्ने व्यवस्था गरिएको थियो । उनका अनुसार आईएसपीसँगको समन्वयमा शंकास्पद वेबसाइटका यूआरएल (वेब ठेगाना) ब्लक गरिन्छ । तर, एउटा वेबसाइट बन्द भएपछि अर्को नयाँ वेबसाइट तुरुन्तै सञ्चालनमा आउने भएकाले निगरानी र कारबाही निरन्तर जारी राख्नुपर्ने अवस्था रहेको उनले बताए ।महतोका अनुसार नयाँ–नयाँ वेबसाइट पहिचान गर्न ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी खोजी (हन्टिङ) गर्ने काम भइरहेको छ । प्राधिकरणले अवैध डिजिटल गतिविधि नियन्त्रणका लागि प्राविधिक निगरानीलाई अझ प्रभावकारी बनाउँदै जाने जनाएको छ ।
