काठमाडौं: देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शुक्रबार) पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।
विशेषगरी पहाडी र हिमाली भेगका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानमै रहेकाले देशभर मनसुनी प्रभाव कायम छ । अहिले हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश स्थानमा आंशिक बदली देखिएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।महाशाखाले शुक्रबार दिउँसो हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ ।हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा जारी रहने सम्भावना छ । यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
