विराटनगर: विराटनगरमा एक युवकले बुधबार अपरान्ह आत्मदाहको प्रयास गरेका छन् ।
आत्मदाहको प्रयास गरेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।सप्तरीको तिलाडी–कोइलाडी गाउँपालिका–१ घर भइ विराटनगर महानगरपालिका–१३ मा डेरा बस्दै आएका ३५ वर्षीय सञ्जीव झालाई उद्धार गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार झा विराटनगर–१३ स्थित नरेश खरेलको घरमा डेरा बस्दै आएको पाइएको छ ।पत्नीसँगको झगडापछि शरीरमा पेट्रोल छर्किएर झाले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘शरीरमा पेट्रोल छर्किएर सलाईले आफैंलाई आगो लगाउने प्रयास गरेको पाइयो । तत्काल प्रहरी पुगेर उद्धार गरेका कारण अप्रिय घटना भने हुन पाएन,’ एसपी कटवालले भने ।उनका अनुसार झाको गोजीमा आफैंलाई आगो लगाउन ठिक्क पारेको सलाईसमेत फेला परेको छ । झाले पत्नीसँगको झगडापछि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको जानकारी प्रहरीले बुधबार अपरान्ह ४ः३० बजेतिर प्राप्त गरेको थियो ।
घटनाको जानकारी पाउनसाथ वडा प्रहरी कार्यालय विराटनगरबाट तत्काल खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरेको हो । उद्धार गरिएका झालाई वडा प्रहरी कार्यालयमा राखेर घटनाका बारेमा थप बुझ्ने काम भइरहेको एसपी कटवालले बताए ।परिवार विराटनगरमा बसे पनि झा भने भारतमा बसेर काम गर्ने गरेको पाइएको छ । झा ४ दिनअघि मात्रै विराटनगर फर्किएको पाइएको छ । विगतमा पनि परिवारसँग झैझगडा गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका पत्नी र दुई सन्तान छन् ।
