खोटाङ: खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको बाढीमा परी ज्यान गएको हो।नेर्पाका वडाध्यक्ष माधव राईका अनुसार आफन्तको घरबाट फर्किने क्रममा स्थानीय छाँगे खोलामा आएको बाढीले बगाउँदा शान्ता राई बेपत्ता भएकी थिइन्। ढिलोसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गर्दा उनको शव खोलामा फेला परेको हो।
यस्तै, गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा पर्शुराम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए। खोजीका क्रममा उनको शव घटनास्थलबाट करिब एक सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै शवको पोस्टमार्टम प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको जनाएको छ।
