०३ साउन २०८३, आइतबार

विराटनगर आइपुग्दै कार्गो रेल, पूर्वका उद्योगी-व्यवसायीलाई ढुवानीमा ठूलो राहत

Logo
Pulse Khabar आइतबार, साउन ०३, २०८३

विराटनगर:भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै विराटनगरसम्म कार्गो रेलमार्फत मालसामान ढुवानी सुरु भएको छ ।

शुक्रबार कोलकाताबाट प्रस्थान गरेको कच्चा पदार्थ बोकेको रेल आज (आइतबार)सम्म विराटनगर आइपुग्ने छ ।नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने सामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएपछि पूर्वी नेपालको व्यापार र उद्योग क्षेत्रमा नयाँ अध्याय सुरु भएको मानिएको छ । पूर्वका उद्योग–व्यवसायीले राहत महसुस गर्नेछन् ।पहिलो चरणमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको रेल विराटनगर आउँदैछ । सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ । जसले ढुवानीको अवस्थालाई निरन्तर निगरानी गर्न तथा सुरक्षा र पारदर्शिता सुनिश्चित गर्न सहयोग गर्नेछ ।कार्गो रेल सेवाको शुभारम्भ कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाएर गरेका हुन् ।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार कोलकाताबाट छुटेको रेल आइतबारसम्म विराटनगर आइपुग्ने अपेक्षा गरिएको छ । सेवा नियमित सञ्चालनमा आएपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीले आयात प्रक्रियामा समय र लागत दुवै बचत गर्न सक्ने उनको भनाइ छ ।यसअघि भारतको बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सेवाको उद्घाटन भए पनि सेवा नियमित हुन सकेको थिएन । २०८० जेठमा एउटा रेल आएपछि सेवा रोकिएको थियो । पछिल्लो नीतिगत व्यवस्था र आवश्यक प्रक्रियागत समन्वय पूरा भएपछि भने कोलकाता बन्दरगाहबाट विराटनगरसम्म नियमित रेलमार्फत माल सामान ढुवानी गर्ने बाटो खुलेको हो ।भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)ले २०२५ नोभेम्बर ४ मा ईसीटीएस सम्बन्धी नियम संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानी गर्न अनुमति दिएको थियो ।

त्यसपछि कोलकाता भन्सारले २०२६ फेब्रुअरी २६ मा जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरसम्म रेलमार्फत मालसामान ल्याउने प्रक्रियागत व्यवस्था लागू गरिएको थियो ।पूर्ण रूपमा सञ्चालनमा आएपछि एकै पटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिनेछ । यसअघि यस्तो सुविधा मुख्यतः वीरगञ्ज नाकासम्म सीमित थियो ।रेलमार्फत ढुवानी सुरु भएपछि सडकमार्गमा निर्भरता घट्ने, बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने डिटेन्सन तथा बिलम्ब शुल्क कम हुने, ढुवानी खर्च घट्ने र सामान छिटो गन्तव्यमा पुग्ने बताइएको छ । यसबाट पूर्वी नेपालको औद्योगिक उत्पादन, आयात–निर्यात र समग्र व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206