०३ साउन २०८३, आइतबार

विश्व फुटबलकै ठुलो भिडन्त: अर्जेन्टिना र स्पेन फाइनलमा भिड्दै

Logo
Pulse Khabar आइतबार, साउन ०३, २०८३

अमेरिका: फिफा विश्वकप २०२६ को उपाधि भिडन्त सोमबार बिहानका राति सुरु हुँदैछ ।

विश्वकपको अन्तिम भिडन्तमा अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन् ।अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ स्टेडियममा हुने फाइनलमा साविक विजेता अर्जेन्टिनाले युरोपेली शक्तिशाली टोली स्पेनको सामाना गर्दैछ । खेल नेपाली समयअनुसार सोमबार बिहानका राति १२ः४५ बजेबाट सुरु हुनेछ ।लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा मैदान उत्रँदै छ । अर्जेन्टिनाले यसअघि सन् १९७८(उन्नाइस सय अठहत्तर), १९८६(उन्नाइस सय छयासी) र २०२२ मा विश्वकप जितेको थियो । यसपटक सफल भए उसले चौथोपटक विश्व फुटबलको सर्वोच्च उपाधि उचाल्नेछ ।यता, कप्तान रोड्रीको नेतृत्वमा रहेको स्पेन १६ वर्षपछि फेरि विश्वकपको फाइनलमा पुगेको हो । सन् २०१० मा पहिलोपटक विश्वकप जितेको स्पेन दोस्रो उपाधिको खोजीमा छ । लगातार तीन संस्करण अन्तिम १६ बाट बाहिरिएपछि स्पेनले युवा खेलाडीलाई अवसर दिँदै नयाँ संरचना बनाएको थियो । जसको प्रतिफल अहिले फाइनलसम्मको यात्राका रूपमा देखिएको छ ।स्पेनका मुख्य प्रशिक्षक लुइस डी ला फुइन्टेले अनुभव र युवाशक्तिको संयोजनमार्फत अर्जेन्टिनालाई दबाबमा राख्ने रणनीति बनाएका छन् ।छोटो पास, बल नियन्त्रण र मिडफिल्डमा प्रभुत्व जमाउने शैलीलाई उनले निरन्तरता दिने अपेक्षा गरिएको छ ।

प्रशिक्षक डी ला फुइन्टेले फाइनलमा पुगेका दुवै टोली विश्वकै उत्कृष्ट रहेको बताउँदै उपाधि जित्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।अर्कोतर्फ अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेसीको अनुभव र टोलीको सामूहिक प्रदर्शनमा विश्वास व्यक्त गरेका छन् । आठ पटकका बालोन डी’ओर विजेता मेसी प्रतियोगिताभर उत्कृष्ट लयमा छन् । स्कालोनीका अनुसार मेसी फाइनलका लागि पूर्ण रूपमा तयार छन् । टोली लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो भने अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको हो । फाइनलअघि दुवै टोलीका केही तथ्यांक पनि आकर्षक छन् । स्पेनका कप्तान रोड्रीले प्रतियोगितामा सर्वाधिक ६४८ पास पूरा गरेका छन् । स्पेनले लगातार ३७ अन्तर्राष्ट्रिय खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ । युवा स्टार लामिन यामलले ३० सफल ड्रिब्लिङ गर्दै प्रतियोगितामा सबैभन्दा प्रभावशाली विंगरको छवि बनाएका छन् ।

यता अर्जेन्टिनाले सात खेलमा १९(उन्नाइस) गोल गर्दै सबैभन्दा आक्रामक टोलीको परिचय दिएको छ । कप्तान मेसीले आठ गोल र चार असिस्ट गरेका छन् । गोल्डेन बुटको दौडमा पनि छन् । स्पेनका गोलकिपर उनाई सिमोनले सातमध्ये छ खेलमा क्लिन सिट राख्दै टोलीको सफलतामा महत्वपूर्ण योगदान दिएका छन् ।फाइनलमा मेसी, लौटारो मार्टिनेज, एन्जो फर्नान्डेज र क्रिस्टियन रोमेरो अर्जेन्टिनाका प्रमुख हतियार रहनेछन् भने स्पेनका रोड्री, लामिन यामल, मिकेल ओयार्जाबाल, पाउ क्युबार्सी र गोलकिपर उनाई सिमोनमाथि समर्थकको विशेष नजर रहनेछ । विश्व फुटबलका दुई शक्तिशाली राष्ट्रबीच हुने भिडन्तले नयाँ इतिहास लेख्ने निश्चित छ । अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने अभियानमा सफल हुन्छ वा स्पेनले १६ वर्षपछि फेरि विश्व फुटबलको शिखर चुम्छ भन्ने निर्णय सोमबार बिहानका रातिको ९० मिनेट, वा आवश्यक परे अतिरिक्त समय र पेनाल्टी सुटआउटले गर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206