३० आषाढ २०८३, मंगलबार

चुमनुब्री गाउँपालिकाको उत्कृष्ट वित्तीय प्रगति: आन्तरिक राजस्व सङ्कलन दुई करोड १८ लाख नाघ्यो

Logo
Pulse Khabar मंगलबार, आषाढ ३०, २०८३

गोरखा: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को मारेको छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ मा रु दुई करोड १८ लाख राजस्व सङ्कलन गर्न सफल भएको त्यस पालिकाले जनाएको छ ।तीन वर्षअघि जम्मा रु ११ लाख १२ हजार राजस्व सङ्कलन गरेको उक्त पालिकाले अघिल्लो आवमा भने रु एक करोड ४९(उनन्चास ) लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो । मनासलु क्षेत्र भ्रमण गर्न आउने पर्यटकबाट भ्रमणबापतको शुल्क उठाउन थालेपछि पालिकाको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो । पालिकाले गत आवबाट मनास्लु आउने पर्यटकबाट शुल्क लिन थालेको हो । प्रतिव्यक्ति रु एक हजारका दरले शुल्क उठाउने गरेको लामिछानेले जानकारी दिनुभयो । गाउँपालिकाले आव २०८०÷८१ मा अन्तरिक राजस्वबापत जम्मा रु २७ लाख १४ हजार सङ्कलन गरेको थियो ।“पर्यटन शुल्कसँगै पालिकाले नदीजन्य सामग्री उत्खननबापतको कर सङ्कलनलाई पनि व्यवस्थित बनाएको छ”, उहाँ भन्नुहुन्छ, “पहिले चिट काटेर कर उठाइन्थ्यो, जसले राजस्व चुहावट हुने जोखिम बढी हुन्थ्यो । अहिले भने अनलाइनमार्फत नै कर सङ्कलन सुरु गरेका छौँ ।”

यस्तै गत वर्षबाट मात्रै गाउँपालिकाले पालिकाको कार्यालयमै व्यवसाय दर्ता गर्ने तथा प्यान नम्बर उपलब्ध गराउन सुरु गरेको छ । यसले पनि राजस्व वृद्धिमा थप सहयोग पुर्याएको छ । पर्यटनबापतको कर सङ्कलन गर्न सुरु भएसँगै पालिकाको राजस्व उल्लेखनीय रूपमा वृद्धि भएको गाउँपालिकाका अध्यक्ष निमा लामा बताउनुहुन्छ । “आगामी वर्षमा तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “जति धेरै राजस्व सङ्कलन गर्न सक्यो सङ्घबाट त्यति नै बजेट बढेर आउँछ । राजस्व बढ्दा पालिकाको आर्थिक विकासमा सहयोग पुग्छ ।” पर्यटन शुल्कबाट धेरै राजस्व सङ्कलन भएकाले सो राजस्व पनि पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा धेरै प्रयोग गर्ने अध्यक्ष लामाको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206