३० आषाढ २०८३, मंगलबार

इटहरीमा विद्युत प्राधिकरणको गाडी दुर्घटना : मर्मतका लागि खटिएका दुई कर्मचारीको मृत्यु, एक घाइते

Logo
Pulse Khabar मंगलबार, आषाढ ३०, २०८३

इटहरी: सुनसरीको इटहरीमा सोमबार राति नेपाल विद्युत प्राधिकरण धरानको स्कोरपिओ गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

मृतक दुवै जना प्राधिकरणका कर्मचारी हुन् । दुर्घटनामा परेर एक जना कर्मचारी घाइते भएका छन् ।मृतक र घाइते नेपाल विद्युत प्राधिकरण धरानमा कार्यरत थिए । प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार सोमबार राति दुहबी–धरान ३३ केभी लाइनमा समस्या आएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरिएको थियो । ‘लाइन पेट्रोलिङ तथा मर्मतका लागि परिचालन गरिएका कर्मचारीहरु चढेको गाडी दुर्घटना परेको हो । दुर्घटनामा ठूलो क्षति भएको छ । दुई जनाको मृत्यु भयो । एक जना घाइते उपचाररत हुनुहुन्छ,’ पोखरेलले भने ।कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० सेउती पुलबाट करिब २ सय मिटर दक्षिणमा अर्थात् तरहरातर्फ राति ११ः४० बजेतिर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको विद्युत प्राधिकरणको बा १ ञा १६५१ नम्बरको स्कोरपिओ आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा परेर विद्युत प्राधिकरण धरानमा कार्यरत स्कोरपिओ चालक धरान उपमहानगरपालिका–१३ का अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ का अन्दाजी ४९ वर्षीय सुमन अचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । राई करारका कर्मचारी हुन् । हेल्पर पदमा कार्यरत आचार्य प्राधिकरणका स्थायी कर्मचारी हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी एम्बुलेन्समा राखेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनसाथ चिकित्सकले राति १२ः४५ बजेतिर मृत घोषणा गरिदिएको डीएसपी हमालले बताए ।उनका अनुसार दुर्घटनामा परेर प्राधिकरणकै कर्मचारी धरान–२० का अन्दाजी ३२ वर्षीय पदम राई घाइते भएका छन् । सामान्य अवस्थाका उनको बीपीमै उपचार भइरहेको छ । उनी ज्यालादारी कर्मचारी रहेको प्राधिकरणले जनाएको छ ।दुर्घटनामा परेर प्राधिकरणको स्कोरपिओ गाडी पूर्णरूपले क्षतिग्रस्त बनेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । विद्युत मर्मतका लागि जाने क्रममा तीव्र गतिमा रहेको गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206