२७ आषाढ २०८३, शनिबार

वर्षा नहुँदा रौतहटका खेत बाँझै: धान रोपाइँ प्रभावित हुँदा किसान चिन्तित

Logo
Pulse Khabar शनिबार, आषाढ २७, २०८३

चन्द्रपुर (रौतहट): यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किनुहुन्छ ।

असारको २७ गते बितिसक्दासमेत यस वर्ष रोपाइँको टुङ्गो नहुँदा उहाँ निराश हुनुहुन्छ ।धानको बीउ तयार छ तर खेत पूरै सुक्खा छ । खेतमा सिँचाइको सुविधा नहुँदा यहाँका भेगका बम्जनसहित सयौँ किसान आकाश हेर्न बाध्य छन् । गत वर्ष पनि समयमा वर्षा नहुँदा सिँचाइ अभावले धान रोप्न नपाउनुभएका बम्जनले यस वर्ष भने रोपाइँ गर्ने योजना बनाउनुभएको थियो । अहिले आकाशे पानीको भरमा बस्नु परिरहेकाले रोपाइँ अन्योल बनेको उहाँको भनाइ छ । “रोपाइँका लागि आलीघारी जोतखन तयार छ तर पानीको व्यवस्था नहुँदा समस्या भइरहेको हो, खेत पूरै बाझै छन्”, बम्जनले भन्नुभयो ।यस्तै समस्या र चिन्तामा हुनुहुन्छ सोही गाउका कुलदीप चौधरी । “गत वर्ष सिँचाइ नहुँदा रोपाइँ नभएको खेत अहिले पनि बाँझै रहने चिन्ता छ । अहिलेसम्म पर्याप्त पानी परेको छैन, बीउ ब्याडमै सुकेका छन् । कहिले रोपाइँ गर्ने अन्योलमा छौँ”, उहाँले भन्नुभयो । आकाशे पानीको भरमा बस्नुपर्ने, वैकल्पिक सिँचाइको व्यवस्था नहुनेलगायत कारणले खेत बाँझै हुन थालेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

किरण बम्जन, बाबुराम घिसिङ, उमेश चौधरीलगायत यहाँका सयौँ किसानलाई गत वर्ष बाँझो बनेका खेत यस वर्ष पनि रोपाइँ नहुने हो कि भन्ने चिन्ता बढेको छ ।जिल्लामा करिब ३८ हजार ५०० हेक्टर जमिन धान रोप्न योग्य भए पनि हालसम्म छ हजार १६० हेक्टरमा मात्रै धान रोपाइँ भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सुरेन्द्र कुर्मीले जानकारी दिनुभयो । यतिबेलासम्म करिब ४५ देखि ५० प्रतिशत रोपाइँ हुनुपर्ने बताउँदै उहाँले प्रयाप्त वर्षा नहुँदा करिब १६ प्रतिशत रोपाइँ भाएको उल्लेख गर्नुभयो ।बागमती सिँचाइ आयोजनाले रौतहटको करिब १३ हजार हेक्टर र झाँझ सिँचाइ आयोजनाले करिब चार हजार ५०० हेक्टर जमिन सिँचित गर्दै आएको कार्यालय प्रमुख कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती सिँचाइबाट चन्द्रपुर नगरपालिकाको आधा भूभाग, बृन्दावन, गुजरा, गढीमाई, माधवनारायण नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ ।

त्यस्तै झाँझ आयोजनाअन्तर्गत गरुडा, माधवनारायण, गढीमाई नगरपालिका र यमुनामाई गाउँपालिकामा सिँचाइ पुगेको छ । स्यालो ट्युबवेलबाट २० प्रतिशत खेतीयोग्य जमिन सिञ्चित हुने कुर्मीले जानकारी दिनुभयो । स्यालो ट्यिुबेल तरकारीखेतीमा बढी प्रयोग हुने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार नारायणी सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत गण्डक नहरको पानी रौतहट भित्र्याउनसके चार वटा पालिकामा सिँचाइ पुग्ने उहाँले बताउनुभयो ।उक्त नहर सरसफाइ गरेर पानी रौतहट ल्याउनसके यहाँका बौधीमाई, राजपुर, परोहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका खेत सिञ्चित हुने कार्यालय प्रमुख कुर्मीले उल्लेख गर्नुभयो । उहाँका अनुसार बौधीमाई नगरपालिकाको बङ्कुलबाट दुर्गाभगवती गाउँपालिकाको बडहर्वासम्म गण्डक नहर विस्तार भए पनि लामो समयदेखि उक्त नहरमा पानी आउन सकेको छैन ।रौतहटको कुल ५२ हजार २०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३८ हजार ५०० हेक्टरमा धान रोपिँदै आइएको उहाँले जानकारी दिनुभयो । कार्यालय प्रमुख कुर्मीका अनुसार गत वर्ष रौतहटमा करिब ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । मनसुन सक्रिय भई निरन्तर वर्षा भए केही दिनभित्र रोपाइँले गति लिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206