कास्की: यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ ।
श्रीपति कोइराला गुठी पोखराले स्थापना गरेको यस पुरस्कार राशि नगद रु दुई लाख २२ हजार २२२ रहेको छ । गुठीले आज श्रीपतिको २१९(दुई सय उन्नाइस)औँ जन्म दिन पारेर पोखरामा कार्यक्रम आयोजना गरी पुरस्कार घोषणा गरेको हो ।गुठीका अध्यक्ष फणीन्द्रराज कोइरालाले मानवीय सेवामा देशभर क्रियाशील रहेको मानव सेवा आश्रमलाई पुरस्कार प्रदान गर्नका लागि छनोट समितिको सिफारिसअनुसार निर्णय गरिएको बताउनुभयो ।उहाँका अनुसार स्व श्रीपतिको स्मृति र सम्मान राष्ट्रियस्तरमा फैलाउने उद्देश्यअनुरुप नेपालभर रहेर उत्कृष्ट समाज सेवा गरी उल्लेख्य योगदान पु¥याउने संस्था तथा व्यक्तिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरिएको छ ।मानवसेवा आश्रमले विगत १३ वर्षदेखि खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुको हितका काम गर्दै आएको छ । आश्रमले बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित भई तिनीहरूको मानवोचित व्यवस्थापन गरी समाज सेवामा विशिष्ट पहिचान स्थापित गरेको छ । मकानपुरमा केन्द्रीय कार्यालय रहेको आश्रमको हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब दुई हजार २०० जनालाई सेवा प्रदान गरेको छ ।
गुठीले विसं २०७९ देखि यो पुरस्कार प्रदान गर्दै आएको छ । पहिलोपटक माइती नेपाललाई प्रदान गरी सुरुआत गरिएको थियो । त्यसपछि राष्ट्रिय आविस्कार केन्द्र काठमाडौँ, पद्यम भुवनेश्वरी नमूना सेवाश्रम सर्लाही, विन्दवासिनी धार्मिक क्षेत्र विकास समिति पोखरा र गत वर्ष तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका निर्देशक डा सन्दुक रुइत सम्मानित हुनुभएको छ ।पोखरा–४ गैहपाटनमा विसं १८६४ असार २७ गते जन्मिनुभएका श्रीपतिले अध्ययनको सिलसिलामा भारत वनारसमा ज्योतिषशास्त्र, धर्मशास्त्र तन्त्रविद्या, आर्युर्वेदलगायतको उच्च शिक्षा अध्ययन गर्नु भई सरकारी जागिरको साथ साथै धार्मिक तथा समाजसेवा र मानवकल्याणमा आफ्नो जीवन व्यतीत गर्नुभएको थियो ।उहाँले पोखरा र पर्वतमा जग्गा खरिद गरी पाटीपौवा, मन्दिर स्थापना गरी साधुसन्त बटुवा र सन्न्यासीका लागि बाटो, चौतारा, पौवा समेत बनाउनुभएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिनुभयो ।स्व श्रीपतिले स्थापना गरेका मन्दिर पौवा र ऐतिहासिक विरासतलाई संरक्षण गर्दै उहाँको मानव कल्याणको अभियानलाई जीवन्त वनाई राख्ने उद्देश्यले विभिन्न विधामा पुरस्कार छात्रवृत्ति, आर्थिक सहयोगका कार्यक्रम गुठीले गर्दै आएको छ ।
