इनरुवा:सप्तकोशी नदीमा तैरिरहेको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ ।
सुनसरी प्रहरीले बिहीबार बिहानका राति ३ सय ८ किलो किलो गाँजा बरामद गरेको हो ।कोशी गाउँपालिका–७ केराबारी र भण्टाबारीबीचको सप्तकोशी नदीको बाँधको किनारनजिक ३ सय ८ किलो फेला परेको सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको संयुक्त टोलीले बिहानका राति १ः३० बजेतिर गाँजा बरामद गरेको हो ।प्रहरीले गस्ती गर्दै जाने क्रममा नदीको किनार छेउमा पानीमा तैरिरहेको वस्थामा ८ वटा कालो प्लास्टिकले बेरिएको शंकास्पद पोकाहरु फेला पारेको थियो । उक्त पोका खोलेर हेर्दा भित्र गाँजा रहेको पत्ता लाग्यो ।
डीएसपी खड्काका अनुसार गाँजा बरामद गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । सप्तकोशी नदीबाट गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले बताए ।उनका अनुसार गाँजा कसले र कहाँ लैजान खोजेको भन्ने यकिन भइसकेको छैन । तर, भारततर्फ कटाउने योजना हुनसक्ने प्रहरीको अनुमान छ । ओसारपसारमा संलग्नको खोजी तीव्र पारेर विस्तृत अनुसन्धान अघि बढाइएको एसपी थेवेले बताए ।
