

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजभोलि राजनीतिक दलहरुमा प्रश्न सोध्न पनि नपाइने गरेको बताउनु भयो । उहाँले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निस्कासित गरिएको बताउनु भयो । नेता रावलले भयंकर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताउनु भयो ।
उहाँले रास्वपा सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताउनु भयो ।
उहाँले नागरिकता, राहदानी दुई÷दुई वटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने बताउनु भयो । लामिछानेलाई सो पदमा राख्नेहरु पनि उत्तिकै जिम्मेवार रहेको उहाँले आरोप लगाउनुभयो ।
नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठूला राजनीतिक दलका ठूला नेता आफैँ लागेको उहाँको भनाइ छ । सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको उहाँले बताउनु भयो ।
नेता रावलले एमसीसीमा अनुदान लिएपछि गत ६ महिना यता त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला ठूला सैनिक जहाज आएको बताउनु भयो ।