काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ ।नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९७(एक सय सन्तान्नब्बे ) र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १९५(एक सय पन्चान्नब्बे) कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर रु २१७ र डिजेल प्रतिलिटर रु २२५ रहेको थियो ।यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर रु १९४.५०(एक सय चौरानब्बे दशमलव पाँच शून्य) र डिजेल प्रतिलिटर रु १९२.५०( एक सय बयानब्बे दशमलव पाँच शून्य) कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १९६(एक सय छियान्नब्बे) र डिजेलको मूल्य रु १९४(एक सय चौरान्नब्बे) तोकिएको छ ।
हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर रु २२९ कायम भएको छ । यस्तै, अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रतिकिलोलिटर कायम गरिएको छ ।मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब रु दुई हजार ०६० मा प्राप्त गर्नेछन् । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर रु दुई हजार १६० रहेको थियो ।अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
