१४ आषाढ २०८३, आइतबार

अस्पतालको आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ कार्यान्वयन, ज्यान जोखिममा रहेका बिरामीले तत्काल उपचार पाउने

Logo
Pulse Khabar आइतबार, आषाढ १४, २०८३

लुम्बिनी:  लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ ।

यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको हो ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विष्णुप्रसाद गौतमका अनुसार हाल अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेका छन् । सीमित जनशक्ति र स्रोतसाधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्र्याज प्रणाली प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थामा उक्त सेवा बन्द गरेपछि बिमासम्बन्धी सेवा लिन आउने बिरामीको सङ्ख्या सरकारी अस्पतालमा उल्लेख्य रूपमा बढेको छ । निजी अस्पतालबाट रिफर भई आउने तथा सिधैँ बिमामार्फत सेवा लिन आउने सेवाग्राही थपिँदा प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।अस्पतालका मेसु डा गौतमका अनुसार ट्र्याज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ । अत्यन्त गम्भीर अवस्थाका बिरामीलाई रातो सङ्केतमा राखी तत्काल उपचार सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो सङ्केतमा र सामान्य ज्वरो, हल्का चोटपटक वा केही समय पर्खंदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो सङ्केतमा वर्गीकरण गरिने उहाँले बताउनुभयो ।अस्पतालका अनुसार यस प्रणालीले आकस्मिक कक्षको व्यवस्थापन सहज बनाउनाका साथै गम्भीर बिरामीले समयमा उपचार पाउने सुनिश्चितता गर्नेछ । साथै उपचारको पालो कुर्दाकुर्दै ज्यान गुमाउनुपर्ने जोखिम पनि न्यून हुने अपेक्षा गरिएको छ ।अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुनासोरहित बनाउन आवश्यक सबै प्रयास भइरहेको बताउनुभयो । उहाँले उपलब्ध स्रोतसाधन र बढ्दो सेवाग्राहीको चापबीच ठूलो अन्तर रहेकाले सेवा व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206