विराटनगर: विराट मेडिकल कलेज विराटनगरमा नेपालमै पहिलो पटक विकरणित रगत (इरेडिएटेड ब्लड) उपलब्ध गराउने सेवा प्रारम्भ गरेको छ ।
रेडिएसन प्रविधि प्रयोग गरेर रगतमा भएका हानिकारक (टिलिम्फोसाइट) लाई नष्ट गरी तयार गरिएको यो विशेष रगतले क्यान्सरका बिरामी, प्रत्यारोपण आवश्यक परेका तथा गरेका बिरामी र अन्य गम्भीर रोगका रोगीहरूको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले हस्पिटलले यो सेवा सुरु गरेको रक्त सञ्चार विशेषज्ञ डा विपीन नेपालले जानकारी दिनुभयो ।डा नेपालका अनुसार जब बिरामीलाई सामान्य रगत चढाइन्छ, तब रगत दिने व्यक्तिको रगतमा भएको कोषिकाहरूले रोगीको शरीरको कोषिकाहरूलाई फरक मान्छन् । त्यसपछि दाता रगतको कोषिकाहरू बिरामीको शरीरको विरुद्ध लडाइँ गर्न सुरु गर्छन् । यसले रोगीको शरीरमा गम्भीर समस्या र जटिलता सिर्जना गर्ने समस्या देखिनसक्छ । “विकरणित रगतमा यो समस्या आउँदैन किन भने रेडिएसन प्रविधि प्रयोग गरेर दाता ब्लडबाट टिलिम्फोसाइट निष्क्रिय गरिन्छ”, उहाँ भन्नुहुन्छ ।
त्यसैले दाता रगतको कोषिकाहरू बिरामीको शरीरको विरुद्ध आक्रमण गर्न सक्दैनन् । त्यसकारण विकरणित रगत बिरामीमा चढाउँदा यो खतरा हुँदैन र बिरामी सुरक्षित रहने रक्तसञ्चार विशेषज्ञ डा नेपालको भनाइ छ ।सम्पूर्ण रगत रोग तथा रगत क्यान्सरका बिरामी, बोनम्यारो, मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामी, जन्मजात इम्युन कमजोर भएका बिरामीहरूलाई यसले फाइदा गर्ने रक्तक्यान्सर तथा रगत रोग विशेषज्ञ डा विकासकुमार शाहले बताउनुभयो ।यो सेवा सुरु भएपछि बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पूर्वी नेपालका विकरणित रगत आवश्यक भएका बिरामीहरूलाई धेरै लाभ मिल्ने अस्पतालले जनाएको छ ।
