विराटनगर : विश्व लागुऔषध दुर्व्यसन तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विराटनगरमा लागुऔषधविरुद्ध चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
रिकभरी ग्रुप विराटनगरको आयोजना तथा रिकभरिङ नेपालको सहयोगमा विराटनगरमा आयोजित कार्यक्रममा ‘फेरि उठ्ने छु’ शीर्षकको लागुऔषधसम्बन्धी चेतनामूलक म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।निर्मल कट्टेलको स्वरमा सार्वजनिक गरिएको म्युजिक भिडियोले लागुऔषध दुर्व्यसनमा फसेका व्यक्तिको पुनर्स्थापना, आशा, आत्मविश्वास र नयाँ जीवनको सुरुवातको सशक्त सन्देश दिएको छ। भिडियोमार्फत लागुऔषधबाट टाढा रहन, प्रभावित व्यक्तिलाई घृणा होइन सहयोग, उपचार र पुनर्स्थापनाको बाटो देखाउनुपर्ने सन्देश प्रवाह गरिएको छ।कार्यक्रमका प्रमुख अतिथि रिकभरिङ नेपालका उपाध्यक्ष दीपक चापागाईं, गैरसरकारी संस्था महासंघ मोरङकी अध्यक्ष विष्णु शर्मा, कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्द्रभाल झा, डा. रोशन खड्का लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले लागुऔषध दुर्व्यसनलाई केवल कानुनी समस्या नभई स्वास्थ्य, सामाजिक र मानवीय समस्याका रूपमा हेर्नुपर्नेमा जोड दिए । दुर्व्यसनबाट प्रभावित व्यक्तिलाई दण्डभन्दा पनि उपचार, परामर्श र पुनर्स्थापनामार्फत समाजमा पुनः स्थापित गर्नुपर्ने धारणा उनीहरूले राखे ।उनीहरूले लागुऔषध मुक्त समाज निर्माणका लागि परिवार, समाज, सरकार र सबै सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको बताए ।





