दमौली : तनहुँ समाज हङकङले मिर्गौला तथा क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ ।
हङकङमा बसोबास गर्ने तनहुँवासीको संस्था तनहुँ समाज हङकङले जिल्लाका मिर्गौला तथा क्यान्सरबाट पीडित बिरामीलाई रु पाँच लाख ७६ हजार आर्थिक सहयोग गरेको हो । समाजले बन्दीपुर गाउँपालिका–४ का दुवै मिर्गौलासम्बन्धी समस्या खेपिरहनुभएका सुकबहादुर गुरुङ, ऋषिङ गाउँपालिका–८ का सोमबहादुर नेपाली र क्यान्सरपीडित सोही वडाका दुर्गबहादुर थापालाई जनही रु एक लाख ९२(बयान्नब्बे ) हजार आर्थिक सहयोग प्रदान गरिएको छ । समाजका अध्यक्ष कर्णबहादुर नेपाली, पूर्वअध्यक्ष भीमराज गुरुङ, जङ्गबहादुर थापाले आज यहाँ आयोजित कार्यक्रम पीडितका आफन्तलाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ । समाजले २०५६ सालदेखि जिल्लामा रु एक करोडभन्दा बढी सहयोग गरिसकेको समाजका पूर्वअध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “समाज गठन भएदेखि नै कसैलाई दुःख परेको थाहा पाउनेबित्तिकै रकम सङ्कलन गरी हस्तान्तरण गर्दै आएका छौँ ।”समाजले जिल्लामा भूकम्पपछिको पुनःनिर्माण, बाढीपहिरोजस्ता दैवी प्रकोपबाट पीडितलाई समेत सहयोग गर्दै आएको छ । तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चारसम्बन्धी पूर्वाधार विकास तथा पत्रकारिता प्रवद्र्धनमा समाजले सहयोग गर्दै आएको छ ।
