काठमाडौं :हिन्दु धर्मावलम्बीहरूले आज (बिहीबार) निर्जला एकादशी श्रद्धा, भक्ति र उपवासका साथ मनाइरहेका छन् ।
ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशीका रूपमा चिनिने गरिन्छ ।भगवान् विष्णु वा श्रीहरिको प्रिय तिथिका रूपमा मानिने यस दिन विशेष पूजा–आराधना, दान तथा व्रत गर्ने धार्मिक परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार यो एकादशीमा गंगा तथा अन्य पवित्र नदी, तीर्थस्थल, खोलानाला वा जलाशयमा स्नान गरी भगवान् विष्णुको पूजा गरिन्छ । निर्जला एकादशीमा पानीसमेत त्याग गरेर उपवास बस्ने प्रचलन भएकाले यसलाई सबैभन्दा कठिन तथा पुण्यदायी एकादशीमध्ये एक मानिन्छ ।शास्त्रमा उल्लेख भएअनुसार पूर्ण उपवास बसेर जल वा सर्बतले भरिएको घडा दान गरेमा श्रीहरिको विशेष कृपा प्राप्त हुने विश्वास छ ।अन्न, वस्त्र, जल, शय्या, आसन, कमण्डलु, छाता तथा गौदानजस्ता कार्यलाई पनि यस दिन विशेष पुण्यदायी मानिएको छ ।निर्जला एकादशीसँग तुलसीको विशेष सम्बन्ध रहेको छ ।
श्रद्धापूर्वक तुलसीको दल राख्ने र त्यसलाई आगामी हरिशयनी एकादशीका दिन तुलसीको मठमा रोप्ने परम्परा रहिआएको छ । पछि हरिबोधिनी एकादशीका अवसरमा भगवान् विष्णुसँग तुलसीको विवाह गरिदिने धार्मिक चलन छ ।धार्मिक ग्रन्थहरूमा अन्य एकादशीमा व्रत बस्न नसकेका व्यक्तिले पनि निर्जला एकादशीको व्रत गरेमा सबै एकादशीको पुण्यफल प्राप्त हुने उल्लेख गरिएको छ । यही कारणले पनि यस एकादशीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।पौराणिक कथाअनुसार महर्षि व्यासले भीमसेनलाई ज्येष्ठ शुक्ल पक्षको एकादशीमा निर्जल व्रत बस्न सुझाव दिएका थिए ।भीमसेनले अन्य एकादशीमा उपवास गर्न कठिन हुने बताएपछि व्यासले वर्षभरिका एकादशीको फल प्राप्त गर्न निर्जला एकादशीको व्रत गर्नुपर्ने बताएका थिए ।
त्यसयता यो व्रतको महत्व अझ बढेको धार्मिक विश्वास छ ।शास्त्रीय मान्यताअनुसार शम, दम, दान र भक्ति भावका साथ श्रीहरिको पूजा गरी रात्रि जागरणसहित निर्जला एकादशीको व्रत गर्ने व्यक्तिले ठूलो पुण्य प्राप्त गर्ने विश्वास गरिन्छ । यस व्रतले पाप नाश हुनुका साथै आध्यात्मिक उन्नति, मनोकामना पूरा हुने र मोक्ष प्राप्तिको मार्ग प्रशस्त हुने धार्मिक विश्वास रहेको छ ।तुलसी दल अर्पण गर्न बिहान स्नान गरी पूजा स्थल सफा गर्ने, भगवान् विष्णु, नारायण, श्रीकृष्ण वा शालिग्रामको पूजा गर्ने तथा श्रद्धापूर्वक तुलसीका पात अर्पण गर्ने चलन छ । तुलसीलाई देवी स्वरूप मानिने भएकाले विष्णु पूजामा यसको विशेष महत्व रहेको धर्मशास्त्रमा उल्लेख छ ।धार्मिक आस्थाअनुसार निर्जला एकादशीमा श्रद्धापूर्वक व्रत, पूजा र दान गरेमा भगवान् विष्णुको विशेष कृपा प्राप्त हुने तथा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेकोछ ।
