

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा गएराति भएको खेलमा नेपाल र यमनको खेल २–२ को बराबरीमा सकिएको हो ।
अन्तिम खेलमा नेपालले गोलको खाता पनि खोल्न सफल भएको छ भने बराबरी गर्दै हारको श्रृखला समेत तोडेको छ । यस अघिका ५ खेलमा नेपालले हार खेपेको थियो भने कुनै गोल गर्न समेत सकेको थिएन् । नेपालले अन्तिम खेलबाट बराबरी खेल्दै अंक पनि जोडेको छ । नेपालका फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले १- १ गोल गरे । कार्की र बिष्ट दुवैको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
नेपाल रहेको समूह ‘एच’ मा यूएई १६ अङ्कसहित शीर्ष र बहराइन १-१ अङ्कसहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । पाँच अङ्क रहेको यमन र एक अङ्क जोडेको नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।
यसै खेलमा नेपालका गोलकिपर किरण लिम्बुले एकसय औँ अन्तर्राष्ट्रिय खेल खेले । एकसय औँ खेल खेल्ने उनी पहिलो नेपाली फुटबल खेलाडी हुन् । खेलपछि किरणलाई एक सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो ।