

विराटनगर । कोशी प्रदेश सकारले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता समिति गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको ३ सदस्यीय समितिमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी सदस्य हुनुहुन्छ ।
समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्यसचिव रहनु भएको छ ।
टोलीले प्रदेशको नामकरणको विरोधमा आन्दोलन गरिरहेको पहिचान पक्षधरलगायत राजनीतिकरूपमा असन्तुष्ट रहेका पक्षसँग वार्ता गरेर समस्याको समाधान खोज्ने छ ।
राजनीतिक, आर्थिक र सामाजिक तथा पहिचानका सम्बन्धमा देखा परेका समस्याको समाधान वार्ता र संवादबाटै शान्तिपूर्णरूपमा गर्ने उद्देश्यले वार्ता समिति गठन गरिएको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले बताउनुभयो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका सदस्यहरू मनोनयन गरेको छ। आयोगको सदस्यमा काठमाडौंका डा. सीताराम बस्नेत, सोलुखुम्बुका किशोरकुमार राई, धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेलाई मनोनीत गरिएको छ ।
आयोगको उपाध्यक्षमा यसअघि नै डा. राजेन्द्र अधिकारी नियुक्त हुनुभएको छ । सदस्य मनोनीत भएसँगै पूर्णता पाएको आयोग अब ५ सदस्यीय भएको छ।