०७ आषाढ २०८३, आइतबार

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

Logo
Pulse Khabar आइतबार, आषाढ ०७, २०८३

काठमाडौँ:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नेपालको राजनीतिक पुनर्जागरणको अभियान भएको बताउनुभएको छ ।

पार्टीको चौँथो स्थापना दिवसको अवसरमा चितवनमा आयोजित प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहनुभएका उहाँले रास्वपा सकारात्मक परिवर्तनको आकाङ्क्षाको राजनीतिक अभिव्यक्ति भएको बताउनुभयो ।डा वाग्लेले आफूहरूको उद्देश्य केबल सरकार परिवर्तन मात्र नभई राजनीतिक संस्कार परिवर्तन गर्नु रहेको धारणा राख्नुभयो । रास्वपा विवेक, विधि र नियममा आधारित शासन प्रणाली, योग्यता प्रणाली तथा नागरिक केन्द्रित लोकतन्त्रका पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले रास्वपा पुरानो पुस्तासँग सङ्घर्ष गर्न नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएको उल्लेख गर्नुभयो ।नेता डा वाग्लेले भन्नुभयो, “नयाँ पुस्ताले केबल प्रश्न सोध्न मात्र होइन, उत्तर दिन र शासन सञ्चालन गर्न पनि सक्छ भन्ने प्रमाणित गर्नुपर्छ ।” भविष्यको नेपालको परिकल्पना प्रस्तुत गर्दै उहाँले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्य निर्माण रास्वपाको लक्ष्य रहेको बताउनुभयो । उहाँले अवसरका लागि युवाले विदेशिनुपर्ने बाध्यता अन्त्य हुने, किसान र श्रमिकले सम्मानपूर्वक बाँच्नसक्ने तथा उद्यमीले निर्भय भएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री डा वाग्लेले आत्मनिर्भर र आत्मविश्वासी नेपाल निर्माणका लागि नागरिकको क्षमता, संस्थागत सुदृढता र राष्ट्रिय आत्मविश्वासलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्नुभयो । पार्टीको महाधिवेशनलाई नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भको रूपमा चित्रण गर्दै निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदल्ने अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो ।“गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ र बरालिएको राजनीतिबाट परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष हुन्छ”, नेता डा वाग्लेले भन्नुभयो । रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206