

काठमाडौं । भारत भ्रमणबाट फर्किदै गर्दा विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहालले यो गठबन्धन नटुट्ने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले गठबन्धन पुरै कार्यकाल जाने बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नु भयो, ‘उहाँले यो धारणा सँधै राख्दै आउनुभएको छ । यो उहाँको पार्टीमा राख्नुभएको धारणा हो । यसले हामीलाई कुनै असर गर्दैन । आफ्नो धारणा पार्टीमा राख्ने कुरालाई मैले असहज ठानेको छैन ।’
प्रधानमन्त्रीले वर्तमान सत्ता गठबन्धनमा कुनै पनि समस्या नआएको प्रष्ट पार्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको विषयमा गरेको टिप्पणीलाई सामान्य रुपमा लिएको उहाँको भनाइ छ ।
यस्तै प्रधानमन्त्री दाहालले ११ जना राजदूत फिर्ता बोलाउने समय ठीक नभएको घुमाउरो स्वीकार गर्नु भएको छ । मन्त्रीपरिषदले यो निर्णय गर्दा आफ्नो आसन्न भारत भ्रमणबारे ध्यान नगएको उहाँको भनाइ छ ।