बिर्तामोड: नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
झापाको बिर्तामोडमा आज आयोजित ‘लागूऔषधविरुद्ध झापा अभियान’को उद्घाटन कार्यक्रममा कार्कीले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि देशभर १५ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब अभियानलाई थप प्रभावकारी, सक्रिय र कडाइका साथ अघि बढाइने बताउनुभयो ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा लागूऔषधको जोखिमका दृष्टिले देशकै संवेदनशील जिल्लामध्ये एक रहेको बताउँदै यसको नियन्त्रणका लागि सबै तहका निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईं, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँल तथा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालगायतले लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।
अभियानका क्रममा प्रस्तुत तथ्याङ्कअनुसार झापामा हाल २१ हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको छ । जिल्लामा पाँच महिला सुधार केन्द्रसहित ४२ वटा सुधार केन्द्र सञ्चालनमा रहेका छन् । लागूऔषधको बढ्दो प्रयोग र त्यसबाट सिर्जित सामाजिक चुनौती न्यूनीकरणका लागि सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह तथा समुदायबीचको सहकार्यलाई अभियानले थप सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
