काठमाडौँ: सरकारले विभिन्न मितिका मन्त्रिपरिषद् बैठकबाट भएका १५० निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख र जेठ महिनामा बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।मन्त्री पोखरेलका अनुसार सरकारले जेठ २९(उन्नाइस ) गते राष्ट्रिय परिचय व्यवस्थापन प्रणाली (एबिआइएस) को लाइसेन्स क्षमता विस्तार गर्न स्वीकृति दिएको थियो । त्यस्तै, मध्य भोटेकोसी जलविद्युत आयोजनालाई वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराउने अवधि थप गर्न पनि स्वीकृति प्रदान गरिएको छ ।यसअघि जेठ २६ गतेको बैठकले १६ वटा विभिन्न निर्णय गरेको थियो । तीमध्ये नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिससम्बन्धी मापदण्ड, २०८३ स्वीकृत गरिएको छ । साथै, नेपाल पर्यटन, होटेल तथा पर्वतीय प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरिएको छ । मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धी विधेयक तर्जुमाका लागि समेत सिद्धान्त स्वीकृति प्रदान गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
साथै जेठ १९ गतेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि गृहमन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । साथै, आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय पनि गरिएको छ । त्यसै गरी, जेठ ५ गतेको बैठकले निजामती कर्मचारी कल्याणकारी कोष (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको थियो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत ९७७ पद स्वीकृत गर्नुका साथै भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ तथा बालबालिका सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गरिएको थियो ।
