विराटनगर: नेपालको सनातन सभ्यता, संस्कृति तथा धार्मिक सहिष्णुताको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले मोरङको विराटनगरमा असार ६ गते शनिबार ऐतिहासिक ‘बृहत् सनातन सम्मेलन’ आयोजना हुने भएको छ।
हिन्दु, बौद्ध र किराँत धर्मगुरुहरूको उपस्थितिमा विराटनगर महानगरपालिका वडा न –१ स्थित जिल्ला प्रहरी कार्यालय दक्षिणतर्फको खुला मैदानमा सम्मेलन हुन लागेको हो । सम्मेलनको मुख्य वक्ताका रूपमा भारतका प्रसिद्ध हिन्दु धर्मगुरु स्वामी अवधेशानन्द गिरी, बौद्ध धर्मगुरु फुपु छेम्बे शेर्पा र किराँत धर्मगुरु आत्मानन्द लिङ्देन रहनेछन् । स्वामी अवधेशानन्द शनिवार नै काठमाडौँ हुँदै विराटनगर आइपुग्ने कार्यक्रम छ ।सम्मेलनमा कोशी र मधेश प्रदेशका १६ जिल्लाबाट १५ हजारभन्दा बढी धर्मावलम्बीहरूको सहभागिता रहने आयोजक समितिले जनाएको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली र जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सरकारका पूर्व मन्त्री जयराम यादव पत्रकार सम्मेलनमा सहभागी भई ऐक्यबद्धता जनाएका छन । उद्योगी एवं संविधान सभा सदस्य पवनकुमार सारडा सल्लाहकार रहेको यस सम्मेलनको संयोजकत्व प्रा.डा. भेषप्रसाद धमलाले गरेका छन् ।
आयोजक समितिमा उद्योगीहरू बेनिगोपाल मुन्दडा, महेश जाजु, प्रकाश मुन्दडा, अनिल साह र व्यवस्थापनमा शिवरतन जोशी सक्रिय छन् ।आयोजकका अनुसार सम्मेलनमा देशका विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय तहबाट हजारौंको संख्यामा श्रद्धालु, धर्मप्रेमी र दर्शनार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।सनातन सम्मेलन सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको उद्योगी महेश जाजुले जानकारी गराए । यस सम्मेलनले सनातन धर्म र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । आयोजकले यो सम्मेलन कुनै एक धार्मिक सम्प्रदायको कार्यक्रम मात्र नभई राष्ट्रिय एकता, सामाजिक सद्भाव र आध्यात्मिक चेतनाको साझा मञ्च भएको उल्लेख गर्दै सम्पूर्ण धर्मप्रेमी, राष्ट्रप्रेमी, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई परिवारसहित उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन आग्रह गरेको छ।

