

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताउनु भयो । उहाँले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । एक जना बसेको हुन्छ । अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ । सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रश्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिनुभयो ।