काठमाण्डौ – बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३(त्रियान्नब्बे) करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो । उहाँका अनुसार पुँजीगततर्फ ४३ अर्ब ९७(सन्तान्नब्बे) करोड १४ लाख ३ हजार अर्थात् ६५ दशमलव ६९(उनन्सत्तरी) प्रतिशत र चालुतर्फ २२ अर्ब ९६(छयान्नब्बे) करोड १९ ( उन्नाइस) लाख ३० हजार अर्थात् ३४ दशमलव ३१ प्रतिशत विनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अति विपन्न एक हजार परिवारलाई परिवारलाई घर बनाइदिन २० करोड बजेट छुट्याएको छ ।
काठमाण्डौ उपत्यकाको बढ्दो शहरी चाप र गाडी आवागमनको सहजताका लागि सङ्घीय सरकारसँगको सहकार्यमा मेट्रो रेल सञ्चालन सम्भाव्यता अध्ययनका लागि र भीमफेदी–कुलेखानी सुरुङ मार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरेको मन्त्री तामाङले बताउनुभयो ।
