०२ आषाढ २०८३, मंगलबार

टीकापुरमा भूमिपूजाको रौनक: मगर समुदायको संस्कृति र परम्परा झल्कियो

Logo
Pulse Khabar मंगलबार, आषाढ ०२, २०८३

टीकापुर: मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत भएको छ ।

पर्व मनाउन दाङदेखि कैलालीसम्मका ती जातिका अगुवा टीकापुर आइपुगेका छन् । नेपाल मगरसङ्घ टीकापुरको आयोजित कार्यक्रमका सहभागीले भूमिपर्वको महत्वका बारेमा चर्चा गरेका छन् । ती समुदायले भूमि, प्रकृति र कृषि उत्पादन वृद्धि होस् भनी मनाउने गर्दछन् । मगर समुदायका अगुवा धर्मराज घर्ती मगरले बताउनुभयो । “‘भूमे पर्वमा हामीले राम्रो बाली उत्पादन होस् भनी पूजा गर्ने गर्दछौँ । आज बिहानै एकै ठाउँमा सबै जम्मा भएर पूजा गरिएको छ”, उहाँले भन्नुभयो, “प्राकृतिक विपत्तिबाट सुरक्षा, मानिसको सुख र समृद्धिको कामना गरिन्छ ।”नेपाल मगरसङ्घ टीकापुरका कार्यवाहक अध्यक्ष दिलु घर्ती मगरले पहिलो दिन भूमि पूजासहित विविध कार्यक्रम गरिएको र आज विभिन्न कार्यक्रम गरी समापन हुने जानकारी दिनुभयो । “कार्यक्रममा मगर समुदायमा संस्कृति, नाचगान, पहिरन, गरगहना प्रस्तुत गरेका छौँ”, उहाँले भन्नुभयो, “संस्कृति र परम्परा युवा पुस्तालाई सिकाउने प्रयास पनि गरेका हौँ ।”दाङका आशबहादुर जिगमले मगर समुदायमा प्रचलित पर्व मनाउन आफू दाङदेखि टीकापुर आएको बताउनुभयो । “दैविक क्षति नहोस्, विपत्तिबाट बच्न सहयोग होस् भनी भूमि पूजा गर्ने, नाचगान गर्दै रमाइलो गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “सामूहिक नाचगान, सांस्कृतिक कार्यक्रम भइरहेका छन् । भूमि प्रतिको सम्मानको महत्व बढाउन यो कार्यले सघाउँछ ।”

सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले पर्वले प्रकृतिप्रतिको सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचान संरक्षणमा योगदान दिने बताउनुभयो । “स्थानीय परिकार तथा खानाको समेत सामूहिक रुपमा खानपान गर्ने अभ्यास राम्रो लाग्यो”, उहाँले भन्नुभयो, “जमिन नभए हामी भोकै हुन्छौँ, हाम्रो पेट भर्ने भूमिको पूजा गर्ने चलन राम्रो हो ।”टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन लुहार विक, मगर समुदायका अगुवा रमेश थापा मगर, सङ्घका सुदूरपश्चिम अध्यक्ष दलबहादुर घर्ती मगर, मगर सङ्घका जिल्ला अध्यक्ष वीरेन्द्र थापा मगर, कमल पुन मगरलगायतले भूमि पूजाको महत्वबारे बोल्नुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206