०१ आषाढ २०८३, सोमबार

खोला तर्ने सास्तीको अन्त्य: पुल निर्माण भएपछि स्थानीयमा खुशियाली

Logo
Pulse Khabar सोमबार, आषाढ ०१, २०८३

भजनी : कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा निर्माण भइरहेको पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ ।

आगामी असोज महिनाभित्र सम्पन्न गर्नुपर्ने पुल बर्खाअगाडि असारभित्रै सम्पन्न हुने भएपछि स्थानीय निकै उत्साहित छन् । पुल निर्माणसँगै कर्णाली नदीमा सञ्चालन हुँदै आएको डुङ्गाबाट हुने सवार यस वर्षबाट सधँैका लागि बन्द हुनेछ । कैलाली र बर्दियाको आवतजावतमा कर्णाली नदी कहिल्यै बाधक बन्ने छैन । बर्दिया शान्तिबजारकी सम्झना चौधरी भन्नुहुन्छ, “कैलालीको टीकापुर हाम्रा लागि नजिकको बजार बनेको छ । कामको खोजीका लागि टीकापुरसम्म सहजै पुग्ने सपना पुल निर्माण भएपछि पूरा हुनेछ, गेरुवा र टीकापुरको नजिक भएको छ ।” स्थानीयलाई त्यहीँ डुङ्गाको प्रतीक्षा गरेर बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । दैनिक कामकाजका लागि ओहोरदोहोर गर्ने स्थानीयलाई दैनिक नदी वारपार गरेको पैसा लाग्ने छैन । यसअघि कामको लागि नदी वारपार गर्नुपर्ने बाध्यताका बीच वर्षमा हजारौँ रुपैयाँ ढुङ्गा चढेको मात्रै तिर्नुपर्ने बाध्यता थियो ।टीकापुरका सन्तलाल कठरियाले भन्नुभयो, “एकातिर त्यो डुङ्गालाई बुझाउनुपर्ने पैसाको बचत भयो, अर्कोतिर कुनै जोखिम बहन नगरी आवतजावत हुने भयो ।” उहाँले कैलाली र बर्दियाको व्यापारिक सम्बन्ध झन मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।टीकापुरलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न टीकापुर नगरपालिकाले पुल निर्माणका लागि निकै प्रयास गरेको थियो ।टीकापुर उद्योग वाणिज्य सङ्घले बर्सेनि आयोजना गर्ने औद्योगिक व्यापार मेलाको प्रमुख ‘एजेन्डा’ त्यहीँ पक्की पुल थियो ।पुल निर्माण अन्तिम चरणमा पुगेपछि अहिले गेरुवा गाउँपालिकाले पुलसम्म पुग्ने सडक कालोपत्र गरिसकेको छ । गेरुवाको मुख्यबजार शान्तिबजारदेखि सनकट्टी पुलसम्मको सडक कालोपत्र भएपछि आवतजावतमा झन् सहज भएको स्थानीय प्रकाश चौधरी बताउनुहुन्छ । उहाँले जुनसुकै बेला पनि ओहोरदोहोर गर्न सकिने भएपछि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

टीकापुर नगरपालिकाले पनि पुलसम्मको सडक कालोपत्रको काम थालेको छ । चालु आर्थिक वर्षमा रु एक करोड ६४ लाखको लागतमा डेढ किलोमिटर सडक कालोपत्रको काम सुरु गरिएको टीकापुर नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताउनुभयो । उहाँका अनुसार बाँकी ६०० मिटर सडक ग्राभेलको काम पनि थालिएको छ । “यस वर्ष बजेटको अभावले बजारदेखि पुलसम्मको सबै सडक कालोपत्र हुन सकेन”, उहाँले भन्नुभयो, “अर्को वर्ष नगरपालिकाले बजेट सुनिश्चितता गर्न सक्यो भने टीकापुरबाट पुलसम्म पुग्न १० मिनेट लाग्ने छैन ।”पुलबाटको दुवैतर्फ अढाई सय मिटर कालोपत्र सडक निर्माण पुल निर्माण कम्पनीले नै गर्ने छ । निर्माणाधीन पुललाई आवागमन सँगसँगै पर्यटन क्षेत्रसँग जोड्न सकिने विश्वाससमेत गरिँदै आएको छ । त्यस क्षेत्रमा रानी कर्णाली सामुदायिक वन, शीतल सामुदायिक वन र जनशक्ति सामुदायिक वन पर्यटक प्रवद्र्धनका हिसाबले आकर्षण केन्द्रका रुपमा रहेको छ । जनशक्ति सामुदायिक वनभित्र कर्णाली नदीको अवलोकन गर्न सकिने गरी ‘भ्युटावर’ निर्माण गरिएको छ । पुलबाट कर्णाली नदीले बनाएका फाँटहरुको अवलोकन गर्न सकिने छ । “पर्यटकीय क्षेत्र टीकापुर पार्क पुगेको पर्यटक थपम नोरञ्जनका लागि सनकट्टी पुग्न सक्ने सम्भावना निकै छ,” स्थानीय पुस्कल विश्वकर्माले भन्नुभयो, “अझै जलमार्गको प्रयोग गर्ने पर्यटकलाई झन् सहज हुनसक्छ ।”

विसं २०७९ पुसमा ठेक्का सम्झौता भएको पुलको काम एक वर्ष ढिलो सुरु भएको थियो । पुलको काम रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ । “डिजाइनतयार गर्न, वातावरणीय मूल्याङ्कनलगायत कामले पुलको काम एक वर्ष ढिलो सुरु भएको थियो”, कन्स्ट्रक्सनका साइड इञ्चार्ज कृष्ण ढुङ्गेलले भन्नुभयो, “काम सुरु भएपछि हामीले रातदिन काम गरेर सम्झौताभन्दा दुई महिना अगाडि नै काम सम्पन्न गर्दैछौँ ।”उहाँले सरकारले बजेटको सुनिश्चितता समयमै गर्न सकेको भए गएको चैतभित्र काम सम्पन्न हुने बताउनुभयो । काम गरेको कन्स्ट्रक्सनले अझै रु १२ करोड भुक्तानी नपाएको ढुङ्गेलको भनाइ छ ।सात सय ५२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलका १४ वटै पिल्लर छन् । पुल निर्माणका लागि रु एक अर्ब चार करोड छ । बाटो तथा नदी नियन्त्रणका लागि थप रु १४ करोड गरी रु एक अर्ब १८ करोडको लागतमा रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206