३१ जेठ २०८३, आइतबार

दामोदरकुण्ड तीर्थयात्रीलाई ठूलो राहत : धर्मशालामा दुई महिनासम्म निःशुल्क भोजन र आवासको व्यवस्था

Logo
Pulse Khabar आइतबार, जेठ ३१, २०८३

मुस्ताङ: लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ ।

समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने पदमार्ग घिमेठाँटी र दामोदरकुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निःशुल्क भोजन र आवासको प्रबन्ध मिलाइएको हो । दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको क्षेत्रअधिकारभित्र रहेको पवित्र धार्मिकस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीका लागि म्याग्दीको अन्नपूर्ण–३ नारच्याङस्थित पुण्यश्वर महादेव शिवालय उपसमितिले निःशुल्क भोजन र त्यहाँ रहेको धर्मशालामा आवासको व्यवस्था मिलाएको विकास समितिका कोषाध्यक्ष एवं दामोदरकुण्ड तीर्थयात्री भोजन व्यवस्थापक समिति संयोजक मोहन पुर्जाले जानकारी दिनुभयो ।बर्सेनि बर्खायामको दुई महिना उपसमितिले सङ्कलन गरेको चन्दाबाट निःशुल्क भोेजनको व्यवस्था मिलाउँदै आएको उहाँले बताउनुभयो । यस वर्ष पनि दामोदरकुण्ड तीर्थ गर्ने अनुकूल याम सुरु भएकाले जेठ २५ गतेदेखि साउनसम्म तीर्थयात्रीलाई खान र बस्न व्यवस्थित प्रबन्ध गरिएको संयोजक पुर्जाले उल्लेख गर्नुभयो । म्याग्दीस्थित गलेश्वरधामबाट बर्सेनि मुक्तिदान उठाउने गरेको र उपसमितिको आंशिक अक्षयकोषबाट खर्चिने गरी तीर्थयात्रीका लागि निःशुल्क भोजनलगायत व्यवस्था गरिएको पुर्जाको भनाइ छ ।उपसमितिद्वारा सङ्कलित चन्दा दानको रकम खर्चिने गरी भोजन व्यवस्थापन गर्न चार जना खटाइएको छ । दामोदरकुण्डमा दुई र घिमेठाँटीमा दुई कर्मचारीलाई भोजनको व्यवस्था मिलाउन खटाइएको छ । यसका लागि बर्सेनि रु पाँच लाख बढी खर्च हुने गरेको व्यवस्थापक पुर्जाले बताउनुभयो ।

विसं २०६४ देखि नारच्याङस्थित गुप्तेश्वर महादेव उपसमितिले दामोदरकुण्ड तीर्थयात्रीका लागि निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएकामा कोभिड–१९ को समयमा दुई वर्ष तीर्थयात्रा बन्द हुँदा कार्यक्रम रोकिएको व्यवस्थापक पुर्जाले जानकारी दिनुभयो ।तीर्थयात्रीका लागि भोजनसहित बासको व्यवस्था भएपछि ठूलो राहत मिलेको लोघेकर दामोदरकुण्ड–४ का वडासदस्य कृष्णकुमारीले जानकारी दिनुभयो । तीर्थयात्रीले भोजन र बस्नका लागि लत्ताकपडाको व्यवस्था मिलाउँदै यात्रा गर्न कठिन हुने भएकाले यस प्रकारको सुविधाले दर्शनार्थीको यात्रालाई सहज बनाएको उहाँले उल्लेख गर्नुभयो ।नेपाल—चीन उत्तरी क्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल हिन्दू धर्मावलम्बीहरूका सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले २०७८ सालमा पुरुष र महिलाका लागि अगल–अलग बस्न मिल्नेगरी दुई धर्मशाला निर्माण गरेको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । गाउँपालिकाले दामोदरकुण्डको केही तल धर्मशालासहित बाथरुम र शौचालय निर्माण गरेको र घिमे ठाँटीमा पनि दुईवटा धर्मशाला गाउँपालिकाले नै निर्माण गरेको छ । दुईवटै धर्मशालाको क्षमता करिब १०० जना बढीको छ भने घिमेठाँटीमा रहेको धर्मशालाको क्षमता करिब ४० जनाको रहेको अध्यक्ष विष्टले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206