काठमाडौँ:बाह्रौँ विश्व योग दिवस, २०२६ मनाउन गठित मूल समारोह समितिले ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ (योगा फर हेल्थ एजिङ) भन्ने आदर्श वाक्य तय गर्दै साताव्यापी कार्यक्रम तर्जुमा गरेको छ ।
आगामी असार ७ गते (जुन २१) मा मनाइने दिवसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा सचिव चुडामणि पौडेलको संयोजकत्वमा गठित समितिको गत जेठ २१ गते भएको बैठकले दिवसका अवसरमा विविध रचनात्मक प्रवर्द्धनात्मक र प्रचारात्मक कार्यक्रम गर्न सम्बद्ध सङ्घसंस्थालाई आग्रह गरेको हो ।मन्त्रालयका उपसचिव शिवप्रसाद घिमिरेका अनुसार बैठकले चलचित्र प्रदर्शनी, पुस्तक विमोचन, रक्तदान, सार्वजनिक परिसंवाद, प्रभातफेरि दीप प्रज्ज्वलन, र्याली, झाँकी, सामूहिक योगाभ्यास, योग प्रदर्शन, वक्तृत्वकला, वादविवाद प्रतियोगिता, चित्रकलाजस्ता कार्यक्रम गर्न आग्रह गरेको छ । कार्यक्रमबारे पूर्वजानकारी गराउन र कार्यक्रमपश्चात प्रतिवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।
समितिले प्रदेशमा शिक्षा हेर्ने मन्त्रालयको संयोजकत्वमा शिक्षा, स्वास्थ्य, पर्यटनसम्बद्ध मन्त्रालयका प्रतिनिधिसमेतको सहभागितामा योग दिवस मनाउन सबै प्रदेश सकारकारहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
