विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई महिलामैत्री र समावेशी सहर बनाउने प्रयासहरू जारी रहेको बताउनुभएको छ ।
संघीय राजधानीमा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली महिला सम्मेलनलाई सम्बोधन गर्दै मेयर कोइरालाले लैंगिक उत्तरदायित्वभित्र रहेर बजेट बनाउने गरेको सुनाउनुभयो । सम्मेलनले विराटनगरमा पनि स्थानीय विकासका विभिन्न क्षेत्रमा थप सहकार्यका लागि नेटवर्क निर्माण गर्ने छ ।
विराटनगरलाई कसरी आधुनिक, जीवन्त सहरमा परिणत गर्ने भन्ने योजना बनाइरहेको उहाँको भनाइ थियो । उहाँले नेपालमा महिलाको आर्थिक र राजनीतिक सशक्तीकरणका हिसाबले उल्लेख्य प्रगति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचित निकायमा महिलालाई ३३ प्रतिशत आरक्षणको संवैधानिक व्यवस्था छ । यसले संसद, प्रदेश र स्थानीय सरकारमा महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।’ तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका प्रतिनिधिको सहभागिता रहेको थियो ।