काठमाडौं:नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदमा दिएको अभिव्यक्तिपछि उत्पन्न बहसबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रष्टिकरण दिएका छन् ।
प्रधानमन्त्रीले बोलेको कुरा तथ्यमा आधारित रहेको दाबी गर्दै उनले आवश्यक परे पुनः संसदमा गएर जवाफ दिन प्रधानमन्त्री तयार रहेको बताएका छन् । मंगलबार मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी रहेको उल्लेख गरे ।‘प्रधानमन्त्रीले यसअघि पनि संसदमा उपस्थित भएर सीमा विवादसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिइसक्नु भएको छ । आवश्यकता परे फेरि पनि सदनमा गएर प्रष्ट पार्न तयार हुनुहुन्छ,’ उनले भने । जेठ १७ गते संसद बैठकमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे बोल्दै नेपालले पनि कतिपय स्थानमा भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । उक्त भनाइ सार्वजनिक भएपछि राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म व्यापक आलोचना भइरहेको छ ।सरकारका प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको उक्त भनाइलाई तथ्यगत आधारमा आएको दाबी गर्दै सीमा सम्बन्धी प्राविधिक अध्ययन र कूटनीतिक संयन्त्रका प्रतिवेदनबाट त्यस्ता सम्भावनाबारे निष्कर्ष निकालिएको संकेत गरे । उनका अनुसार सीमा विवादलाई एकतर्फी दृष्टिकोणबाट मात्र नभएर दुवै देशका अभिलेख र अध्ययनका आधारमा हेर्नुपर्ने अवस्था छ ।
पोखरेलले नेपाल–भारत सीमा विवाद समाधानका लागि लामो समयदेखि कूटनीतिक संयन्त्रहरू सक्रिय रहेको पनि स्पष्ट पारे । उनले दुवै देशबीच आदानप्रदान भएका कूटनीतिक नोट र प्राविधिक छलफलमार्फत विवाद समाधान गर्ने प्रक्रिया अघि बढिरहेको बताए । उनका अनुसार सीमा समस्या राजनीतिक स्तरमा मात्र नभएर प्राविधिक र कूटनीतिक तहबाट समाधान गर्ने स्थापित अभ्यास छ ।सरकारले यो विषयलाई संवेदनशील मान्दै आपसी संवाद र कूटनीतिक प्रक्रियामार्फत नै समाधान खोजिने दोहो¥याएको छ । प्रवक्ता पोखरेलले विवाद समाधानका लागि विगतदेखि नै बनेका संयन्त्रहरूलाई सक्रिय रूपमा प्रयोग गरिने र त्यसैमार्फत निष्कर्षमा पुगिने सरकारको नीति रहेको स्पष्ट पारे ।
