विराटनगरको हिमालय रोडमा पठन संस्कृति प्रवद्र्धन तथा पुस्तकप्रति नयाँ पुस्ताको आकर्षण बढाउने उद्देश्यले पहिलोपटक ‘हिमालयन रोड किताब मेला–२०८३’ आयोजना गरिएको छ ।
आइतबार सम्पन्न यस एकदिने मेलामा पुस्तक खरिद गर्न र लेखकहरूसँग प्रत्यक्ष संवाद गर्न उल्लेख्य संख्यामा पाठकवर्गको उत्साहजनक भीड लागेको थियो । दिगो विकास इन्स्टिच्युट, ग्रिन सिटी भोलिन्टियर विराटनगर, नर्थ साउथ कलेक्टिभ्स, पुस्तक विक्रेता, स्थानीय साहित्यिक व्यक्तित्व तथा जागरुक युवाहरूको संयुक्त पहलमा हिमालय रोडमा आज मेला आयोजना गरिएकोे छ । मेलामा पाठक र लेखकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्ने, बौद्धिक विमर्शलाई प्रोत्साहन गर्ने तथा समाजमा ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजक संस्थाकी नितु शेनले बताईन् ।
मेलामा नेपाली साहित्य र विराटनगरको साहित्यिक ऐतिहासिकदेखि वर्तमान गतिविधिसम्म गहन छलफल गरिएको छ। उक्त कार्यक्रममा कविता वाचन, आकर्षक सांस्कृतिक नृत्य र विविध कला प्रदर्शनी आयोजना गरी स्रष्टा र साहित्यप्रेमीहरूबीच उत्साहजनक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो।पहिलोपटक आयोजना गरिएको पुस्तक मेलामा विभिन्न पुस्तक बिक्री तथा प्रदर्शनमा मात्र सीमित नभई , कला, साहित्य, र बौद्धिक बहसलाई एउटै स्थानमा जोड्ने साझा मञ्चको रूपमा विकास गर्ने लक्ष्य राखिएको आयोजकहरूले बताए । साथै विराटनगरमा पठन संस्कृतिको विस्तारसँगै साहित्यिक गतिविधिलाई थप सक्रिय बनाउन सहयोग पुगेको भन्दै विराटनगरका साहित्यकार खेम नेपालीले बताए ।


