कञ्चनपुर: आधुनिक जीवनशैलीको प्रभाव बढ्दै जाँदा समाजमा मौलिक संस्कार, वैदिक परम्परा र धार्मिक अभ्यास क्रमशः ओझेलमा पर्न थालेपछि कृष्णपुर नगरपालिकाले त्यसको संरक्षणका लागि अभियान थालेको छ । सनातन हिन्दू धर्मावलम्बीहरूले धारण गर्ने जनै, वैदिक मन्त्र, पूजापाठ तथा कर्मकाण्डसँग सम्बन्धित ज्ञान र सीप नयाँपुस्तामा हस्तान्तरण हुन नसक्दा ती परम्परा हराउने जोखिम बढेपछि नगरपालिकाले तालिममार्फत जागरणको प्रयास थालेको हो ।
नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्र ग्वासी समैजीधाम परिसरमा एक साताव्यापी जनै बनाउने तथा कर्मकाण्डसम्बन्धी छुट्टाछुट्टै तालिम सञ्चालन गरेको छ । तालिममा महिला र पुरुष दुवैको सहभागिता रहेको नगरप्रमुख हेमराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार धार्मिक एवं सांस्कृतिक महत्व बोकेको धाम परिसरमा सञ्चालन गरिएको तालिमले वैदिक संस्कार संरक्षण, धार्मिक चेतना अभिवृद्धि तथा परम्परागत सीप हस्तान्तरणलाई प्राथमिकता दिएको छ ।
“हिन्दू सनातन परम्परामा जनैलाई केवल धागोका रूपमा नभई अनुशासन, शुद्धता, जिम्मेवारी र आध्यात्मिक चेतनाको प्रतीकका रूपमा लिइन्छ”, नगरप्रमुख ओझाले भन्नुभयो, “वैदिक परम्पराअनुसार जनै धारण गर्नु आत्मसंयम, नैतिकता र धार्मिक आस्थासँग जोडिएको अभ्यास हो ।” समाजमा जनैको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे जानकारी अभाव बढ्दै गइरहेका बेला तालिममार्फत सहभागीलाई व्यावहारिक ज्ञान प्रदान गरिएको उहाँले बताउनुभयो ।
स्थानीयस्तरमा जनै बनाउने परम्परागत विधिसँगै यसको महत्वबारे तालिमका सहभागीलाई जानकारी उपलब्ध गराई दक्ष बनाइनु, कला, संस्कृति लोप हुन नदिई संरक्षण गर्नु रहेको बताउँदै उहाँले यसले लोपोन्मुख मौलिक सीप संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कर्मकाण्ड नेपाली समाजको धार्मिक तथा सामाजिक संरचनासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै नगरप्रमुख ओझाले जन्मदेखि मृत्यु संस्कारसम्मका धार्मिककार्य वैदिक विधिअनुसार सम्पन्न गर्ने परम्परा रहेको बताउनुभयो ।
“पछिल्लो समय युवापुस्तामा संस्कृत भाषा, वैदिक मन्त्र तथा धार्मिक विधिप्रतिको चासो घट्दै जाँदा दक्ष जनशक्तिको अभाव देखिन थालेको छ”, उहाँले भन्नुभयो, “यही अवस्थालाई मध्यनजर गर्दै अनुभवी पण्डितलाई प्रशिक्षकका रूपमा नियुक्त गरी तालिम प्रदान गरिएकोे हो ।”
तालिममार्फत सहभागीलाई पूजा विधि, वैदिक मन्त्र उच्चारण, धार्मिक संस्कार तथा आधारभूत कर्मकाण्डसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनुका साथै धर्म र संस्कृतिप्रतिको जिम्मेवारीबोध गराइएको नगरप्रमुख ओझाले उल्लेख गर्नुभयो । उहाँका अनुसार ग्वासी समैजीधाम परिसरमा यस्ता गतिविधि सञ्चालन हुँदा धार्मिक क्षेत्रको महत्व अझ बढ्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले वैदिक मन्त्र, पूजापाठ, कर्मकाण्ड तथा संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको दुवै तालिमबाट ४० भन्दा बढी सहभागी लाभान्वित भएका छन् ।
