

काठमाडौं । जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन् ।
श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताउनु भयो । राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको र फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको पाइएको छ ।
सोही खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ । उनीहरुले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको उहाँले बताउनु भयो । राजन श्रेष्ठलाई हिजो काठमाडौंको कागेश्वरी मनहरा ७ बाट र पाण्डेलाई काठमाडौं २९ बाट पक्राउ गरिएको हो ।
उनीहरुले नारायणबहादुर राईको नागरिकता दूरुपयोग गरेको प्रहरीले जनाएको छ ।