

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफैं जागरुक र सचेत हुनु आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च मोरङ महिला समिति विराटनगरले आयोजना गरेको एकदिने उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सचेत र जागरुक उपभोक्ताको खाँचो रहेको उल्लेख गर्नुभयो ।
बजार अनुगमन स्थानीय सरकारको अधिकार क्षेत्रभित्र परे पनि समन्वयका अभावमा अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले अन्य सरकारी निकायका प्रतिनिधिलाई समेत अनुगमनमा सहभागी गराउनुपर्दा समस्या देखिएको उल्लेख गर्नुभयो ।
सामानको गुणस्तर, उपभोग्य मिति, मूल्य सबै हेरेर मात्रै खरिद गर्ने बानीको विकास गर्नु जरुरी रहेको उहाँको भनाइ थियो । सामान्य नागरिकदेखि राष्ट्रपतिसम्म उपभोक्ता भएकाले उपभोक्ताको हक अधिकार स्थापित गर्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, अधिकारकर्मी भारती उपाध्याय, आयोजक संस्थाकी अध्यक्ष शोभा निरौला, उपाध्यक्ष भूमिका गिरी, सचिव चूडा ठकुरीलगायतले उपभोक्ता अधिकारका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
एकदिने प्रशिक्षण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदी र गुणस्तर तथा नापतौल कार्यालय विराटनगरकी निरीक्षक मनिषा राईले खाद्य स्वच्छता र गुणस्तर नियमन, गुणस्तर तथा नापतौलसम्बन्धी आधारभूत विषयमा जानकारी गराउनु भएको थियो ।
उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रममा एक सय जना महिला सहभागी भएको आयोजक संस्थाकी सचिव चूडा ठकुरीले जानकारी दिनुभयो ।