काठमाडौं:अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भन्सार मूल्यांकन डाटाबेस प्रणालीमा अन्तर्राष्ट्रिय बजार मूल्य समेत हेर्न मिल्ने गरी विकास गरिएको नयाँ प्रणालीको औपचारिक सुरुआत गरेका छन्।
अर्थमन्त्री वाग्लेले यो प्रणालीले भन्सार मूल्यांकन प्रक्रियालाई थप पारदर्शी र यथार्थपरक बनाउने विश्वास व्यक्त गरे। अर्थमन्त्रीले सोमबार मन्त्रालयमा उक्त प्रणाली सुरु भएको घोषणा गरेका थिए। यसबाट पैठारी हुने वस्तुको कारोबार मूल्य निर्धारण गर्न भन्सार प्रशासनलाई प्रत्यक्ष सहयोग पुग्ने भन्सार विभागले जनाएको छ। यो नयाँ प्रणालीको कार्यान्वयनसँगै अन्तर्राष्ट्रिय व्यापारमा थप सहजीकरण हुने अपेक्षा गरिएको छ।
विभागले ०८२ असोज ८ गते विराटनगर भन्सार कार्यालयबाट यसको सुरुआत गरिसकेको थियो। ८२ पुस १८ गतेदेखि आशिकुडा प्रणाली कार्यान्वयनमा रहेका मुलुकभरका सबै भन्सार कार्यालयमा यसलाई लागु गरिएको थियो। यो प्रणालीको पूर्ण कार्यान्वयनले नेपालको भन्सार प्रशासनलाई विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को मूल्यांकनसम्बन्धी सम्झौतालाई पालना र वस्तुको सही कारोबार मूल्य निर्धारण गर्न मद्दत पुग्ने भन्सार विभागले जनाएको छ।
