०७ जेठ २०८३, बिहिबार

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

Logo
Pulse Khabar बिहिबार, जेठ ०७, २०८३

संयुक्त राष्ट्रसंघका महासचिवले जीवाश्म इन्धनलाई विश्वव्यापी जलवायु संकटको मुख्य कारणका रूपमा उल्लेख गर्दै अब विश्व समुदायले नवीकरणीय ऊर्जातर्फ तीव्र, न्यायपूर्ण र समान रूपले रूपान्तरण हुन आवश्यक रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र महासभाद्वारा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रहरूको दायित्वबारे अन्तर्राष्ट्रिय अदालतको सल्लाहकार रायसम्बन्धी प्रस्ताव पारित भएपछि जारी वक्तव्यमा उहाँले जलवायु न्याय सुनिश्चित गर्न जीवाश्म इन्धनको प्रयोग क्रमशः घटाउँदै स्वच्छ तथा दिगो ऊर्जालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

महासचिवका अनुसार जलवायु परिवर्तनका लागि न्यून जिम्मेवार राष्ट्रहरू, विशेषगरी विकासोन्मुख तथा साना टापु राष्ट्रहरूले सबैभन्दा बढी असर भोगिरहेका छन् । बाढी, खडेरी, अत्यधिक गर्मी, समुद्री सतह वृद्धि तथा प्राकृतिक विपद्का कारण लाखौँ मानिसको जीवन र जीविकोपार्जन प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था गम्भीर अन्याय भएको बताउनुभएको छ । उहाँले विश्व समुदायलाई तापक्रम वृद्धि डेढ डिग्री सेल्सियसभित्र सीमित राख्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ । साथै, नवीकरणीय ऊर्जा अहिले सबैभन्दा सस्तो, भरपर्दो र सुरक्षित ऊर्जा स्रोतका रूपमा स्थापित भइसकेकाले त्यसतर्फ लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

बुधबार सम्पन्न महासभा बैठकमा प्रस्तुत प्रस्तावको पक्षमा १४१ देशले समर्थन जनाएका थिए भने ८ देश विपक्षमा उभिएका थिए र २८ देश तटस्थ बसेका थिए । उक्त प्रस्तावले सन् २०२५ जुलाईमा अन्तर्राष्ट्रिय अदालतले दिएको सल्लाहकार रायलाई स्वागत गर्दै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको स्पष्ट व्याख्याका रूपमा त्यसलाई महत्वपूर्ण योगदान मानेको छ । प्रस्तावमार्फत सबै राष्ट्रलाई हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्दै वातावरण तथा जलवायु प्रणालीको संरक्षण गर्न अन्तर्राष्ट्रिय दायित्वअनुसार कार्य गर्न आह्वान गरिएको छ ।
महासचिवले जलवायु संकट समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य, दिगो विकास, स्वच्छ ऊर्जा प्रवद्र्धन तथा वातावरणीय न्यायलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्न अहिले नै ठोस कदम चाल्नु विश्व समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206